बिहीबार ०१ फागुन, २०८१

एमाले नेता कुइँकेलसहित ९ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

एमाले नेता कुइँकेलसहित ९ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं, १ फागुन । सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा ९ जनालाई दोषी ठहर गरेको छ ।  पदमा रहँदा पशुपतिको जग्गामा बालुवाखानी सञ्चालन गर्न दिई भ्रष्टाचार गरेको आरोपमा एमाले नेता निर्मल कुइँकेलसहित ९ जनालाई सर्वोच्चले बुधबार भ्रष्टाचारी ठहर गरेको हो । 

न्यायाधीशहरु कुमार रेग्मी र अब्दुल अजीज मुसलमानको इजलासले कुइँकेललाई ६ वर्ष कैद सजाय तोकेको छ । यस्तै उनीमाथि ८३ लाख ४१ हजार रुपैयाँ भ्रष्टाचार गरेको ठहर अदालतको छ । 

उनले पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव हुँदा बालुवाखानी सञ्चालनसम्बन्धी ठेक्काको फाइलमा निर्णय गरेका थिए ।

यस्तै सुशील नाहाटालाई ६ वर्ष कैद,  महेन्द्रलाल श्रेष्ठलाई ४ वर्ष कैद, काठमाडौं जिल्ला विकास समितिका तत्कालिन स्थानीय विकास अधिकारी गोपाल पराजुलीलाई ६ वर्ष कैद सजाय हुने अदालतको फैसला छ । 

यस्तै तत्कालीन स्थानीय विकास अधिकारी प्रेमराज जोशीमाथि ६ महिना कैद, काठमाडौं जिविसका तत्कालीन योजना अधिकृत भीष्मकुमार मल्ल, राजुकुमार रेग्मीलाई पनि जोशीकै सरह कैद सजायका साथै जरिवानाको फैसला भएको छ ।

सर्वोच्च अदालतले बालुवाखानीको ठेक्का पाएका बच्चराम दाहालबाट १२ करोड ९९ लाख रुपैंया असुल्नुपर्ने फैसला गरेको छ । अर्का ठेकेदार मिठाराम दाहालबाट २ लाख ३७ हजार असुल्नुपर्ने फैसला भएको छ ।

नियम विपरीत बालुवाखानी सञ्चालनको स्विकृती दिएर पशुपतिनाथको आम्दानी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई ठेकेदार सहित ९ जना विरुद्ध २०७१ साल माघमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सो मुद्दा विशेष अदालत हुँदै सर्वोच्च पुगेको थियो ।