बिहीबार ०१ फागुन, २०८१

रारामा पहिलो पाँचतारे हेलिप्याडसहितको लक्जरी रिसोर्टको निर्माण सुरु , डेढ अर्ब लगानी

रारामा पहिलो पाँचतारे हेलिप्याडसहितको लक्जरी रिसोर्टको निर्माण  सुरु , डेढ अर्ब लगानी

काठमाडौं, १ फागुन । मुगुको सुन्दर पर्यटकीय थलो रारामा कर्णाली प्रदेशकै लक्जरी ‘रारा रिसोर्ट’ निर्माण थालनी भएको छ । बुधबार काठमाडौंमा एक समारोहबिच वन तथा वातारणमन्त्री ऐनबहादुर शाही ठकुरीले रारामा निर्माण हुने रिसोर्ट शिलान्यास गरेका हुन् । 

रारा होल्डिङले निर्माण गर्ने रिसोर्ट दुई वर्षमा निर्माण सम्पन्न लक्ष्य राखिएको छ। रारा क्षेत्रमा यो पहिलो लक्जरी पाँचतारे रिसोर्ट हुनेछ। 

तेस्रो लगानी सम्मेलनका क्रममा रारामा बन्ने पहिलो लक्जरी रिसोर्टका लागि अष्ट्रेलियन गुप्रले लगानी गर्ने गरी सम्झौता भएको थियो। अष्ट्रेलियन एक्सपर्ट गुप्रसँग रारा रिसोर्ट निर्माणका लागि रारा होल्डिङ प्रालिले सम्झौता गरेको थियो। 

साझेदारीमा निर्माण हुने यो रिसोर्ट मुगुकै स्थानीय आर्किटेक्चर शैलीमा निर्माण हुनेछ। रिसोर्टमा सुइट ब्लक, डिलक्स ब्लक, स्ट्यान्डर्ड ब्लक र मेन ब्लक गरी चार प्रकारका भिल्लाहरू निर्माण गरिनेछ।रिसोर्टमा एट्याच बाथरुमसहितका ६० कोठा हुनेछन्, जसमध्ये पहिलो चरणमा ४० वटा कोठा तयार गरिने शाहले बताए। यस्तै, रेस्टुरेन्ट, मिटिङ हल, साउना, स्टिम, जिम हललगायत लक्जरी रिसोर्टमा हुने सम्पूर्ण सुविधा उपलब्ध हुने बताइएको छ। 

मुगुको छायानाथ रारा नगरपालिका, मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा बन्ने लक्जरी रिसोर्टमा कूल १ अर्ब ५० करोड जति लगानी हुने अनुमान गरिएको छ। वातावरणमैत्री र स्थानीय संस्कृति झल्किने नेपाली डिजाइनमा निर्माण गरिने र स्थानीयस्तरमा उपलब्ध स्रोत तथा साधनको अधिकतम प्रयोग हुने शाहको भनाइ छ। 

समुद्र सतहदेखि तीन हजार सात सय मिटर उचाइमा निर्माण हुने यो रिसोर्टबाट रारा ताल र त्यस क्षेत्रका हिमालको मनमोहक दृश्य देख्न सकिन्छ। 'यो परियोजना कर्णाली प्रदेशकै पहिलो लक्जरी रिसोर्ट हो, परियोजना निर्माण सुरु गर्नका लागि सबै प्रक्रिया लगभग अन्तिम चरणमा पुगेका छन्, मुगुवासी सबैसँगको छलफल र सहकार्यमा यस परियोजनालाई बढीमा २ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएका छौँ', शाह भन्छन्।