बिहीबार ०१ फागुन, २०८१

ईसीडी दुई वर्षे बनाउन प्रस्ताव

ईसीडी दुई वर्षे बनाउन प्रस्ताव

काठमाडौं, १ फागुन । प्रारम्भिक बाल विकास (ईसीडी) लाई दीर्घकालमा दुई वर्षको बनाउन प्रस्ताव  गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ईसीडीको अध्ययन गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्माको संयोजकत्वमा बनाएको समितिले दुई वर्षको बनाउन सिफारिस गरेको हो ।

समितिले बिहीबार शिक्षामन्त्री विद्या भट्टराईलाई प्रतिवेदन बुझाएको छ ।

अनिवार्य तथा निःशुल्क शिक्षा ऐनले ईसीडी एक वर्षको हुनुपर्ने भनेको छ । अब दुई वर्षको बनाउन कानुन संशोधन गर्नुपर्ने हुन्छ ।

ऐनमा ४ वर्ष पूरा भएका बालबालिकालाई एक वर्षको प्रारम्भिक बालविकास तथा शिक्षा प्रदान गर्ने भनिएको छ ।

तर, निजी विद्यालयले कोहीले तीन वर्ष र कोहीले चार वर्षसम्मको प्रारम्भिक बाल कक्षा पढाइरहेका छन् । त्यसैले दुई वर्षमा लैजान कानुनी व्यवस्था नभएसम्मका लागि मापदण्ड बनाएर हेर्न समितिले सिफारिस गरेको छ ।