२६७८ अंकमा झर्यो सेयर बजार, घट्यो कारोबार
![२६७८ अंकमा झर्यो सेयर बजार, घट्यो कारोबार](https://snowberry.prixacdn.net/media/gallery_folder/nepse%2520(1)_woj1QDN6lA_wbgrujm7oxww0cdblzuillxxvglxtroun1mr5ru2qzndapt5anpiaspgqztk_jAvfRHnTIK_uxme4vgauixkav6zz0ucjmtse86aem6r9jnp2zwyjwxwzlooawtyj8asgqei.jpg)
काठमाडौं, १ फागुन । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्सेमा ७.२६ अंकको गिरावट आएको छ ।
सो अंकको गिरावटपछि नेप्से २६७८ मा कायम भएको छ। अघिल्लो दिन बजार जम्मा १.८६ अंक बढेको थियो।
बजार घट्दा आज कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन ८ अर्ब ७१ करोडको कारोबार भएकोमा आज ७ अर्ब ९२ करोडको भयो।
७६ कम्पनीको मूल्य बढ्दा १६२ को घट्यो भने ६ को स्थिर रह्यो। फाइनान्स सेक्टर सबैभन्दा धेरै १.८८ प्रतिशत बढ्यो। त्यस्तै लगानी ०.५२ र माइक्रोफाइनान्स ०.१७ प्रतिशत बढे। अरु सबै सेक्टर घटेका छन्।
बैंकिङ ०.२३, विकास बैंक ०.९५, होटल तथा पर्यटन ०.५८, हाइड्रोपावर ०.९०, जीवन बीमा ०.१४, उत्पादन ०.४७, निर्जीवन बीमा ०.८७, अन्य ०.१० र व्यापार समूह ०.०१ प्रतिशत घटे।
गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, मातृभूमि लघुवित्त र पोखरा फाइनान्सको मूल्य १० प्रतिशत बढ्यो। बाराही हाइड्रोपावरको मूल्य ६.७७ प्रतिशत बढ्यो। हालै सूचीकृत गार्डियन माइक्रोलाइफको मूल्य प्रतिकित्ता ४८६ रुपैयाँ ६० पैसा पुगेको छ।
न्यादी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो। सामुदायिक लघुवित्तको ४.९, रिभर फल्स पावरको ४.१० तथा एनएलजी इन्स्योरेन्सको ३.५ प्रतिशत मूल्य घट्यो।
एनआरएन इन्फ्रास्ट्रक्चर, सीईडीबी होल्डिङ्स, राधि विद्युत्, सिन्धु विकास बैंक र सेन्ट्रल फाइनान्स कारोबार रकमका आधारमा अगाडि देखिएका छन् ।