महायज्ञबाट चार करोड ८४ लाख संकलन
![महायज्ञबाट चार करोड ८४ लाख संकलन](https://snowberry.prixacdn.net/media/gallery_folder/Capture1640658898_OmnfVaylFC_tzdikryau2sf930ky8pd23wpwoikmr0vpfumscq9hhwyfahs5cx8m42tbmuj_QSF3eRyyqY_nf8jc3gmhrhdxgrlzesmpiosfa5oiiuroleavqhtho6hteddkv033yyuzzmu.jpeg)
कैलाली, १ फागुन । मानवसेवा आश्रमले धनगढीमा सञ्चालन गरेको महायज्ञमा रु चार करोड ८४ लाख रकम संकलन गरेको छ ।
धनगढीमा मानवसेवा आश्रमको भवन निर्माण गर्ने उद्देश्यले सञ्चालित महायज्ञमा उक्त रकम दाताबाट संकलन भएको हो ।
एक सातासम्म सञ्चालित महायज्ञमा सहभागी दानदाताहरूले गक्षअनुसारको दान गरेर सडक आश्रित व्यक्तिहरूका लागि भवन निर्माणमा सहयोग पुर्याएका मानव सेवा आश्रमका सल्लाहकार सिद्धराज पनेरुले बताए ।
महायज्ञ गत माघ २३ गतेदेखि ३० गतेसम्म सञ्चालन भएको थियो । महायज्ञमा भाष्कर कमलनयन गौतमले सङ्गीतमय श्रीमद् भागवत् कथा वाचन गरेका थिए ।
विसं २०७५ मङ्सिर १ गते धनगढी उपमहानगरपालिका- ५ तारानगरमा घर भाडामा लिई सेवा शुभारम्भ गरेको आश्रमले आफ्नै भवन निर्माणको पहल थालेको सल्लाहकार पनेरुले बताए ।
शाखाले हालसम्म सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका तीन सय ८८ जनाभन्दा बढी बेसहारा, असहाय, अभिभावकविहीन, जीवन जोखिममा रहेका सहयोगापेक्षी सडक मानवहरूको उद्धार गरी सेवा प्रदान गर्दै आएको छ ।