बिहीबार ०१ फागुन, २०८१

निजामती सेवामा अब श्रेणी हटाएर तहगत संरचना लागू गरिने

निजामती सेवामा अब श्रेणी हटाएर तहगत संरचना लागू गरिने

काठमाडौं,  १ फागुन । निजामती सेवामा तहगत संरचना रहने गरी प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा सदस्यहरुबीच सहमति जुटेको छ ।

संघीय निजामती सेवा विधेयकमाथि दफावार छलफलका क्रममा यस्तो सहमति जुटेको हो ।

निजामती सेवामा अब तहगत संरचना राख्न नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहित सबै दलका सांसदहरू सहमत भएका छन् ।

प्रस्तावित विधेयकको दफा ६ मा यससम्बन्धी व्यवस्था राखिनेछ ।

तर, निजामती सेवामा अतिरिक्त सचिव राख्ने कि नराख्ने विषयमा भने सहमति जुटेन ।

सभापति रामहरि खतिवडाले तहगत संरचनामा जानेमा सहमति भएको र अतिरिक्त सचिव राख्ने कि नराख्नेबारे पुनः छलफल गरिने जानकारी गराए ।