आज १४ फेब्रुअरी : प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे, प्रेम साटासाट गरी मनाइँदै
काठमाडौं, २ फागुन । आज फेब्रअरी १४, अर्थात प्रणय दिवस।
एक सातासम्म मनाइने सप्ताहको अन्तिम तथा महत्त्वपूर्ण दिनका रूपमा आज प्रेम जोडीले एकआपसमा उपहार आदान–प्रदान गर्दै माया साटासाट गर्ने चलन छ।
यो दिवस अहिले विश्वभर मनाइन्छ। प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा प्रत्येक वर्षको १४ फेब्रअरीमा प्रणय दिवस मनाउन थालिएको हो।
भ्यालेन्टाइन डे आउनु एक हप्ता पहिले नै सप्ताहव्यापी रूपमा यो दिवस मनाइने गरिन्छ । फेब्रुअरी ७ लाई रोज डे, फेब्रुअरी ८ लाई प्रपोज डे, ९ लाई चक्लेट डे, १० लाई टेडी डे, ११ लाई प्रमिस डे, १२ लाई चुम्बन डे, १३ लाई हग डे र १४ लाई भ्यालेन्टाइन डे को रूपमा मनाउने गरिन्छ ।
पछिल्ला वर्षहरुमा नेपालमा पनि यो दिवस युवाहरुले मनाउने क्रम उल्लेख्य रुपमा बढेको छ। गुलावको फूल उपहार दिएर प्रेम आदान प्रदान गर्ने चलन रहेकोले आज गुलावको फुल किन्ने पनि भिड लाग्ने गर्दछ।
