शुक्रबार १६ फागुन, २०८१

बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

काठमाडौं, ४ फागुन । नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ्ग प्रणालीबाट ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत २१ दिनका लागि ४० अर्ब रुपैयाँ प्रशोचन गर्न लागेको हो ।

इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आज मध्यान्ह ३ बजेसम्म अनलाइन आवदेन दिन सक्नेछन् । पछिल्लो समय बैंकहरुमा निक्षेप बढ्दै गएको तर ,निक्षेपको तुलनामा कर्जा लगानी हुन नसक्दा बैंकहरुमा लगानीयोग्य पुँजी थुप्रिरहेको छ ।

समीक्षा अवधिमा सीडी रेसियो (कर्जा/निक्षेप अनुपात) जम्मा ७९.६३ प्रतिशत मात्र कायम छ । यसले गर्दा पनि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण अर्थात् रिभर्सरिपोमार्फत निरन्तर तरलता प्रशोचन गरिरहेको छ ।

बजारमा तरलता अभाव हुँदा केन्द्रीय बैंकले रिपोमार्फत तरलता प्रवाह गर्नेगर्छ भने अधिक तरलता हुँदा रिभर्सरिपो मार्फत प्रशोचन गर्ने गर्छ ।

केन्द्रीय बैंकको तथ्यांक अनुसार माघ २९ गतेसम्म बैंकहरुको निक्षेपको आकार ६७ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ भने यता कर्जा लगानी जम्मा ५१ खर्ब ४५ अर्ब रुपैयाँ बराबर मात्र हुन सकेको छ ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । यो २१ दिने निक्षेप संकलन उपकरणको फागुन २५ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले फागुन लागेयता यो पहिलो पटक निक्षेप संकलन उपकरण मात्र तरलता प्रशोचन गर्न लागेको हो ।