नागरिकता विधेयकमाथि संशोधन हाल्न समय खुला

काठमाडौँ, ५ फागुन । नेपाल नागरिकता ऐन संशोधन विधेयकमाथि संशोधन प्रस्ताव राख्न सांसदहरूलाई समय खुला भएको छ ।
सरकारले ल्याएको विधेयकमाथि आइतबार प्रतिनिधि सभामा सामान्य छलफल भएको थियो । छलफलपछि विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गर्ने कार्यसूची आइतबारकै लागि तय भएको थियो ।
तर, गणपूरक संख्या नपुगेर स्थगित भएको थियो । आइतबार प्रतिनिधिसभामा २२० जना सांसदले हाजिर गरेका थिए । तर, विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा जम्मा ६८ जना उपस्थित थिए ।
१५२ जना सांसद हाजिर गरेर निस्किए पछि आइतबार पारित हुन नसकेको प्रस्ताव सोमबार सभाले पारित गरेको हो ।
सोमबार सभाले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको छ । यो सँगै अब सांसदहरूले ७२ घण्टाभित्र संशोधन प्रस्ताव राख्न सक्छन् ।
सांसदहरूको संशोधन प्रस्तावसहित विधेयकमाथि दफावार छलफल हुनेछ ।