देशभर ११ हजार ३३८ सवारी दुर्घटना, १ हजार २३३ को मृत्यु

काठमाडौं, ५ फागुन । गृह मन्त्रालयले नीतिगत र कानुनी सुधारलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ। सोमबार मन्त्रालयमा पत्रका सम्मेलनगरी मन्त्रालय र मन्त्रालय मातहत निकायबाट पछिल्लो साय भएको कार्य सम्पादन सार्वजनिक गर्दै प्रवक्ता रामचन्द्र तिवारीले कानुनी र नीतिगत रुपमा हामीले बलियो संरचनाहरु तयार नभइ गुणस्तर काम नहुने कारण नीतिगत र कानुनी सुधारलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए।
उनले भने,‘अहिले गृह मन्त्रालयले खास गरेर वर्तमान सरकार र माननीय मन्त्री ज्युले निर्देशन गरेअनुसार गृह मन्त्रालयले अहिले सबैभन्दा पहिले नीतिगत र कानुनी सुधारलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ। जबसम्म कानुनी र नीतिगत रुपमा बलियो संरचनाहरु तयार गर्दैनौं, तबसम्म काममा गुणस्तर हुँदैन्। त्यो कामले नतिजा राम्रो दिदैन भन्ने आधारमा काम गरिरहेका छौं।’ त्यस्तै उनले चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा देशभर ११ हजार ३३८ सवारी दुर्घटना भएको पनि जानकारी गराए । उनका अनुसार साउनदेखि पुससम्म भएका सवारी दुर्घटनामा परी एक हजार २३३ जनाले ज्यान गुमाएका छन्।
गृहमन्त्रालयका अनुसार गत वर्षको छ महिनाको तुलनामा यस वर्षको ६ महिनामा सडक दुर्घटना संख्या घटेको भएपनि मृत्यु संख्या भने बढेको छ। गत वर्ष साउनदेखि पुससम्म १२ हजार ८५६ वटा सवारी दुर्घटना भएको थियो। जसमा १२ सय ३३ जनाले ज्यान गुमाएका थिए। यस वर्ष साउनमा १६२८ वटा सवारी दुर्घटना भएका छन। जसमा १५२ जनाको मृत्यु भएको छ। भदौमा १६ सय १९ सवारी दुर्घटना भएकोमा १७४ जनाले ज्यान गुमाएका छन्। यसैगरी असोजमा १८सय ७३ सवारी दुर्घटना भएका छन्। त्यसमा २०० सय जनाले ज्यान गुमाएका छन्।
कात्र्तिकमा १९ सय २८,मंसिरमा २ हजार १४ र पुसमा २२ सय ७६ वटा सवारी दुर्घटना भएका छन्। सवारी दुर्घटनामा परी कात्र्तिकमा २५८ जना,मंसिरमा २५२ जना र पुसमा १९७ जनाको मृत्यु भएको छ।