क्षेत्रपाटीबाट चोरिएको मोटरसाइकल नयाँ बजारमा फेला

काठमाडौं, ५ फागुन । काठमाडौंको क्षेत्रपाटीबाट चोरी भएको मोटरसाइकल नयाँ बजारमा फेला परेको छ ।
क्षेत्रपाटीस्थित एक होटलमा पार्किङ गरिएको अवस्थामा गत माघ ११ गते राति चोरी भएको ग१६प १३२५ नम्बरको मोटरसाइकल नक्कली नम्बर प्लेट राखेर चलाउँदै गरेको अवस्थामा प्रहरीले नयाँ बजारमा फेला परेको हो ।
प्रहरीले सो मोटरसाइकलमा प्रदेश ३–०२–०१२ प ७३७३ नम्बर राखेर चलाउँदै आएको अवस्थामा धादिङको गङ्गाजमुना गाउँपालिका–९ का २८ वर्षीय सुरज गुरुङलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
मोटरसाइकलसहित नियन्त्रणमा लिइएका गुरुङलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
पछिल्ला समय प्रहरीले चोरीका मोटरसाइकलको खोजीलाई तीव्र बनाएको छ । काठमाडौं प्रहरीले चोरी वा हराएका मोटरसाइकलसम्बन्धी उजुरी दिने र खोजी कार्य गर्न सहज हुने सफ्टवेयर निर्माण गरी कार्यान्वयनमा ल्याउने तयारी गरेको छ ।