प्रहरीले खरिद गर्यो एआई इन्टेलिजेन्स टुल्स, अपराध अनुसन्धानमा सहजता ल्याउने अपेक्षा

काठमाडौं, ५ फागुन । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीमा पहिलो पटक एआई आधारित इन्टेलिजेन्स टुल्स खरिद गरेको छ ।
‘एआई बेस्ड बिजनेस इन्टेलिजेन्स टुल्स’ लाई प्रहरीको अपराध अनुसन्धान विभागले प्रयोगमा ल्याउने तयारी गरेको छ ।
विभागका प्रमुख तथा एआईजी कुवेर कडायतले एआई बेस्ड बिजनेस इन्टेलिजेन्स टुल्स खरिद भइसकेकाले प्रयोगकको अन्तिम चरणमा रहेको बताए ।
उनका अनुसार, करोड बढी लागतमा एआईजी बेस्ड इन्टेलिजेन्स टुल्स खरिद गरिएको हो । भारतबाट खरिद गरिएको उक्त प्रविधि सञ्चालनबारे १५ प्रहरीलाई तालिम समेत दिइएको छ ।
भारतको पुणेमा १५ प्रहरीलाई यसबारे तालिम दिइएको इन्जिनियरतर्फका प्राविधिक डीआईजी अरुण भण्डारीले बताए । ‘एक पटकमा ७ जना र अर्को पटकमा ८ जना गरी १५ जनालाई भारत पठाएर तालिम समेत दिइसकेका छौं’ डीआईजी भण्डारीले भने, ‘अब यो प्रविधि सञ्चालनको अन्तिम तयारीमा छ ।’
यो प्रविधि सञ्चालनमा आएसँगै एनालाइटिकल्स टुल्सको प्रयोगबाट अपराध अनुसधानमा सहजता आउने बताइएको छ । यसमा भएका डेटाहरुले आगामी दिनमा आउनसक्ने अपराधका चुनौती र ध्यान दिनुपर्ने विषयहरुबारे पेडिक्सन गर्नसक्ने डीआईजी भन्डारीको भनाइ छ ।
‘यसले अपराधका डाटाहरुको एनालाइसिस गर्छ र आगामी दिनमा ध्यान दिनुपर्ने विषयहरु सुझाउनुका साथै चुनौतीका विषयमा पनि प्रेडिक्सन गर्छ’ इन्जिनियर डीआईजी भण्डारी भन्छन् ।