प्रस्तावित ‘नेपाल प्रहरी विधेयक’ नियन्त्रणमुखी र प्रतिगामी छः पूर्वआइजिपी अर्याल

काठमाडौं, ५ फागुन । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक प्रकाश अर्यालले प्रस्तावित नेपाल प्रहरी विधेयक वि.सं. २०१२ सालमा बनेको प्रहरी ऐनभन्दा पनि नियन्त्रणमुखी र प्रतिगामी रहेको टिप्पणी गरेका छन्।
सोमबार संघीय संसद् परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले विधेयकमा धेरै कुराहरु सुधार गर्नुपर्ने बताए। उनले २०१२ सालमा बनेको प्रहरी ऐनसमेत भारतको सहयोग लिएर बनाइएको बताए।
प्रस्तावित विधेयक प्रहरीलाई कार्यात्मक स्वायत्तता दिई जवाफदेही हुने गरी ल्याउनुपर्ने उनको भनाइ छ। उनले प्रहरीको परिचालनसमेत प्रहरीलाई नदिई अन्य निकायलाई दिने प्रस्ताव गरिएकोप्रति आपत्ति जनाए।
प्रहरी परिचालनका लागि समेत अर्काको मुख ताक्ने व्यवस्था भए संगठनले जिम्मेवार ढंगले काम गर्न नसक्ने बताए।
उनले भने, ‘प्रहरी विधेयकमा सुधार गर्नुपर्ने चाहिँ धेरै कुराहरु छन्। नेपालको २०१२ सालको ऐनभन्दा पनि त्यो भारतको ऐनबाट प्रभावित भएर आयो। किनभने बुस्ट कमिसनको आधारमा प्रशासनिक र प्रहरी व्यवस्था उतैबाट सहयोग लिएर त्यो ऐन बनेको हो। तर २०१२ सालको ऐनभन्दा पनि प्रस्तावित विधेयक अझै प्रतिगामी र नियन्त्रणमुखी भएर आयो।’