आइतबार ११ फागुन, २०८१

केपी ओलीको सुशासन घुस दिनेलाई समात्ने र लिनेलाई छोडिदिने रहेछ: शेखर कोइराला

केपी ओलीको सुशासन घुस दिनेलाई समात्ने र लिनेलाई छोडिदिने रहेछ: शेखर  कोइराला

काठमाडौं, ६ फागुन । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा.शेखर कोइरालाले वर्तमान सरकार ठीक ढंगले नचलेको टिप्पणी गरेका छन् ।

आज (मंगलबार) पार्टीको भातृ संगठन नेपाल प्रेस युनियन शाखा अध्यक्षहरुको राष्ट्रिय सम्मेलनको उदघाटन सम्मेलनमा बोल्दै कोइरालाले सरकार र सरकारी संयन्त्रहरुले अधिकारको दुरुपयोग गरिरहेको बताएका   हुन् ।

नेता कोइरालाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार सुशासनको लागि भनेर बनाइएपनि यसले घुस दिनेलाई समात्ने र घुस लिने छोड्ने गरिरहेको बताए ।

साथै, महान्याधिवक्ता रमेश बडालको कार्यशैलीमाथि पनि उनले प्रश्न उठाए । महान्यायाधिवक्ता बडालले राज्यले दिएको अधिकारको दुरुपयोग गरिरहेको उनको आरोप छ । अहिले आफूहरु सत्तामा भएपनि सरकारमा नरहेको बताउँदै नेता कोइरालाले यो सरकारको गलत क्रियाकलापको विरोध गरिने बताए । उनले एमाले–कांग्रेस प्रतिस्पर्धी पनि भएकाले चित्त नबुझेको कुरामा खबरदारी गरेर अगाडि बढ्नुपर्ने बताए ।

‘हामीले त यो सरकारलाई सुशासन दिन्छ भनेर ल्याएको हो । तर, कस्तो सुशासन दिने रहेछ भने घुस दिनेलाई समात्ने र घुस लिने छोडिदिने रहेछ । महान्यायाधिवक्ताको क्रियाकलाप हेर्न हो भने उहाँलाई राज्यले जुन अधिकार दिएको छ, त्यो अधिकारको दुरुपयोग भइराखेको छ भन्ने कुरामा अब दुइमत छैन । कताकता मलाई चिन्ता लागेको छ । हामीहरु सरकार बाहिर छौं, सत्तापक्षमा छौं, तर सरकारमा छैनौं हामी । हामीहरुले यो सरकारलाई खबरदारी गरिरहनुपर्ने आवश्यकता छ,’– उनले भने ।

केन्द्रदेखि गाउँपालिकासम्म संयन्त्र बनाएर सरकार चलाउने काम र दुष्प्रयास भइरहेको उनले बताए । लोकतन्त्रमा संयन्त्रले देश लाउन नहुने उनले बताए । नेता कोइरालाले गठबन्धनको नाममा एमालेकरण भइरहेको छ कि भन्ने आफूलाई चिन्ता लागेको बताए ।