शुक्रबार ०९ फागुन, २०८१

अध्यादेश सरोकारवाला र मुलुकको हितमा छ : सूर्य थापा

अध्यादेश सरोकारवाला र मुलुकको हितमा छ : सूर्य थापा

काठमाडौं, ६ फागुन । सांसद सुर्यबहादुर थापाले अध्यादेश सरोकारवाला र मुलुकको हितमा रहेको बताएका छन्। प्रतिनिधिसभामा आज विशेष समयमा बोल्दै सांसद थापाले सरकारले ६ अध्यादेश सरोकारवालाको हितमा ल्याएको उल्लेख गर्दै अनावश्यक विरोध गर्न आवश्यकसमेत नरहेको जिकिर गरे।

सांसद थापाले हिउँदे अधिवेशन विधेयक अधिवेशन भएकाले कानुन निर्माणसँग सम्बन्धित प्रक्रियामा नै प्रथामिकता दिनुपर्ने भन्दै अनावश्यक मिडियावजाजी गरेर अरोप लगाउने काम बन्द गर्न सुझाव दिए।

‘अध्यादेशको विषयमा अनावश्यक विरोध भइरहेको छ। अहिले ६ अध्यादेश आएका छन्। शुसासन प्रवर्द्धन, सहकारी बचतकर्ताको बचत रकम फिर्ता, सूचना प्रविधि प्रवर्द्धन, औद्योगिक वातावरण, वित्तिय उत्तरदायित्व र भूमिसम्बन्धि अध्यादेश आएको छ,’ उनले भने, ‘सरोकारवाला खुसी भएका छन्। तर हाम्रा केही सांसदमा खुसी देखिएन। सरोकारवाला र मुलुकको हितमा अध्यादेश आएको हो । विरोध गर्नु बेकार छ।’

सांसद थापाले सरकार निर्माण भएपछि अघिल्लो सरकारको कार्यकालमा बाँकी रहेको निर्माण व्यवसायीका ३० अर्बभन्दा बढी भुक्तानी अहिलेको सरकारले दिएको बताए।

‘वर्तमान सरकारको कार्यकालमा राजश्व वृद्धि भएको छ। पूँजीगत खर्चमा वृद्धि भएको छ। पर्यटन आगमनमा पनि सुधार आएको छ। अर्थतन्त्र लयमा फर्कने क्रममा रहेको छ,’ सांसद थापाले भने, ‘अहिले अनावश्यक अध्यादेशको विरोध गरेर सरकारको आलोचना भइरहेको छ। यो संविधान विपरितको काम होइन्। संसद् नलचेको बेलामा छोटो समयमा अध्यादेश ल्याउन सरकारलाई दिइएको सुविधा हो।’

मुलुकका दुई ठूला पार्टीको सहकार्य हुँदा ठूलो उपलब्धि हुने सांसद थापाले बताए। ‘यसपालि पनि ठूला उपलब्धि गराउनुपर्ने छ। समाजमा निरासा हटाएर आशा जगाउने उद्देश्यअनुसार नै सरकार अगाडि बढिरहेको छ,’ उनले भने, ‘देशमा भ्रष्टाचार बढेको छ। सुशासन कायम राख्न अध्यादेश ल्याउन लागिएको हो।’

सहकारी ठकी प्रकरणमा प्रतिपक्षले राजनीतिक प्रतिशोध साँधेको आरोप लगाइरहेको उल्लेख गर्दै सांसद थापाले आपत्ति जनाए। उनले सामाजिक सञ्चाल नियमन सम्बन्धि विधेयकले विद्युतीय अपराध रोकिने बताए।

सांसद थापाले भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा अध्ययनरत बुटवलकी छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्यु भएको घटनाको छानबिन हुनुपर्ने माग गरे।