अध्यादेशको अन्तरवस्तु गलत र हानिकारक रहेको एकीकृत समाजवादीको निश्कर्ष, विपक्षमा मतदान गर्ने निर्णय

काठमाडौं, ६ फागुन । नेकपा (एकीकृत समाजवादी) ले सरकारले ल्याएको अध्यादेशको विपक्षमा उभिने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको स्थायी कमिटी बैठकले अध्यादेश ल्याउने कार्यविधि र अन्तरवस्तु गलत र हानिकारक रहेको निश्कर्ष निकाल्दै विपक्षमा उभिने निर्णय गरेको हो ।
सरकारले पछिल्लो समय ल्याएको अध्यादेशबाट भूमाफिया, कालोबजारिया, राजस्व छली गर्ने व्यक्ति, विचौलिया, भ्रष्टचारी, तस्कर र दलालहरूलाई फाइदा पुग्ने एकीकृत समाजवादीको निश्कर्ष छ ।
‘अध्यादेशको प्रक्रिया र अन्तरवस्तु दुवैमा हाम्रो पार्टीको असहमति र विरोध छ त्यसैले हाम्रो पार्टीले संसदमा अध्यादेशहरूको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ,’– बैठकको निर्णय सार्वजनिक गर्न जारी भएको विज्ञप्तिमा भनिएको छ ।
बैठकले अध्यक्षको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माण सम्बन्धी आगामी कार्ययोजना, संसदमा प्रस्तुत अध्यादेश र समसामयिक प्रस्तावहरूलगायतका एजेण्डाहरू पारित गरेको बताइएको छ ।
त्यस्तै, बैठकले पोखरा भ्रमण वर्ष २०८१ को उद्घाटन कार्यक्रममा बेलुन विष्फोट भई घाइते भएका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यलगायतको स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।
एकीकृत समाजवादीले भारतको ओडिसा राज्यको कलिङ्गा इन्सिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्यु प्रकरणप्रति गम्भीर ध्यानाकर्षण भएको पनि बताएको छ । घटनाको सत्यतथ्य छानविन गरि दोषिलाई कारवाही गर्न र नेपाली विद्यार्थीहरूलाई सुरक्षाको प्रत्याभूति गर्न, छात्रावासमा बस्ने व्यवस्था मिलाउनका लागि कूटनीतिकलगायत आवश्यक पहल गर्न सरकारसँग माग गरिएको छ ।