डेढ महिनामै लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

काठमाडौं, ७ फागुन । लुम्बिनी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेशसभाको पाँचौँ अधिवेशन अन्त्य गरेका छन् । नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम फागुन ६ गते राति १२ बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्य गरेका हुन् ।
गत पुस १६ गतेदेखि शुरू भएको अधिवेशनमा ११ पटक बैठक भएको थियो । प्रदेशसभाका सचिव दुर्लभकुमार पुनमगरका अनुसार अधिवेशनबाट लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विधेयक र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक पारित भएको छ ।
यसअघि प्रदेश प्रमुखले प्रमाणीकरण नगरी फिर्ता पठाएका प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय निजामती सेवाको गठन, सञ्चालन तथा सेवाका शर्तसम्बन्धी विधेयक अधिवेशनबाट पारित भएको थियो ।