आइतबार ११ फागुन, २०८१

चित्रबहादुर केसी भन्छन्- लोकतन्त्र र गणतन्त्र कसैले दिएको बकस हैन

चित्रबहादुर केसी भन्छन्- लोकतन्त्र र गणतन्त्र कसैले दिएको बकस हैन

काठमाडौं, ७ फागुन ।  प्रतिनिधि सभा सदस्य चित्रबहादुर केसीले देशमा प्राप्ती भएको लोकतन्त्र कसैले दिएको बकस नभएको दाबी गरेका छन् ।  राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बागलुङमा आयोजित मुल समारोह कार्यक्रममा सम्बोधन गर्दै केसीले अहिलेका हरेक परिवर्तन जनताले नै संघर्ष गरेर ल्याएको हुँदा यो कसैको बकस नभएको बताएका छन् ।

उनले सत्ता र शक्तिका लागि विभिन्न नेता आउने जाने भएता पनि जनता आफुहरुले ल्याएको परिवर्तनमा ज्ञाता भएको दाबी गरे । ‘नेता त शक्तिका लागि आउँछन् जान्छन्। जनता त सँगै साक्षी छन् नी केसीले भने,‘केही प्रतिगामीले जनताले संघर्ष गरेर ल्याएको गणतन्त्रको आवश्यकता छैन भन्दै गरेका छन, ति सबै देशका लागि घाती हुन, लोकतन्त्र र गणतन्त्रका लागि सधै हामी पहरेदार भएर लागौं ।’ 

उनले लोकतन्त्र र गणतन्त्रलाई संकटमा पर्न नदिन जनतालाई आग्रह गरे । केसीले ७५ वर्ष अगाडि राणा सासनको अन्त हुने बेलाको कुरा सम्झँदै त्यसयता मुलुकमा कति परिवर्तन भए तर व्यवस्था परिवर्तन भए अनुसार देशको समस्या समाधान हुन नसकेकोमा चिन्ता व्यक्त गरे । 

राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत रहेको केसीले मुलकमा जनताले दुःख गरेर ल्याएको लोकतन्त्र र गणतन्त्रमाथि कालो बादल मडारिएको बताए। उनले केही प्रतिगामी तत्वकै कारण जनताले ल्याएका परिवर्तनमा नै समस्या उत्पन्न भएकोमा चिन्ता व्यक्त गरे । उनले सत्ता र शत्तिमा बस्नेले नराम्रो गरेपनि उनीहरुलाई सजाय दिनका निम्ती लोकतन्त्र आवश्यक रहेको बताए ।