आजदेखि देशभरका चिकित्सक कालोपट्टी बाँधेर धर्नामा

काठमाडौं, ७ फागुन । नेपाल चिकित्सक संघले आफ्ना माग पूरा नभएको भन्दै आज (बुधबार) देखि देशभर आन्दोलन गर्ने भएको छ ।
संघले सरकारलाई दिएको ४८ घण्टाको समयभित्र माग पूरा नभएपछि उनीहरु आ–आफ्नो कार्यालयअगाडि कालोपट्टी बाँधेर एक घण्टा धर्ना बस्ने भएका हुन् ।
संघले जारी गरेको विज्ञप्ति अनुसार बुधबार र बिहीबार देशभरका स्वास्थ्य संस्थामा यो आन्दोलका कार्यक्रम हुनेछ । सरकारले निकासका लागि सम्बोधन नगरेमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने कार्यक्रम गर्न संघ बाध्य हुने चेतावनी समेत दिएको छ ।
संघले आइतबार विभिन्न ९ बुँदे माग राखेर सरकारलाई ४८ घण्टाको अल्टिमेटम दिएको थियो । जसमध्ये सरकारले १ र २ नम्बर बुँदाको माग पूरा गरेको तर अन्य विषयमा चासो नदिएको भन्दै संघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको जनाएको छ ।