शनिबार १० फागुन, २०८१

नेपालमा एमसीसी परियोजना ९० दिनका लागि स्थगित, भविष्यबारे अन्योल

नेपालमा एमसीसी परियोजना ९० दिनका लागि स्थगित, भविष्यबारे अन्योल

काठमाडौं, ७ फागुन ।  नेपालमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना स्थगित भएको छ । एमसीसीले इमेल लेखेर परियोजना स्थगित भएको अर्थ मन्त्रालयलाई जानकारी गराएको छ। अर्थ मन्त्रालयका अनुसार फागुन २ गते एमसीसीले इमेल लेखेको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशहरूमा गरिने आर्थिक सहयोगमा रोक लगाएसँगै एमसीसी परियोजना पनि प्रभावित भएको हो ।

अर्थ मन्त्रालयले राष्ट्रपति ट्रम्पको २०२५ जनवरी २० को कार्यकारी आदेशबमोजिम एमसीसी परियोजना ९० दिनका लागि स्थगित भएको जनाएको छ। नेपाल सरकार र अमेरिकाबीच २९ भदौ २०७४ मा एमसीसी कार्यान्वयनबारे सम्झौता भएको थियो। सन् २०२२ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले एमसीसीलाई सदनबाट अनुमोदन गराएको थियो।

अमेरिकी अनुदानअन्तर्गत एमसीसीले नेपालमा विद्युत् र सडक पूर्वाधारमा लगानी गरिरहेको थियो। अमेरिकाको ५०० मिलियन डलर र नेपालको १९७ मिलियन डलर खर्च गरेर ३०० किलोमिटर विद्युत् प्रसारण लाइन र सबस्टेशन निर्माण अनि ७७ किलोमिटर सडकको स्तरोन्नति र मर्मतको लक्ष्य राखिएको थियो। ट्रम्पको वैदेशिक सहायता कटौती गर्ने नीतिको प्रभावले अमेरिकी सहयोग नियोग यूएसएआईडीका कार्यक्रम बन्द गरिसकेको छ ।