आइतबार ११ फागुन, २०८१

राणाले सन्तानका लागि दरबार बनाए, प्रजातन्त्रले जनताका लागि सडक: प्रधानमन्त्री

राणाले सन्तानका लागि दरबार बनाए, प्रजातन्त्रले जनताका लागि सडक: प्रधानमन्त्री

काठमाडौं, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्खाले भोगेको हन्डरले परिवर्तन भएको बताउँदै नयाँ पुस्ताले इतिहासलाई बिर्सन नहुने बताएका छन्।

प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जहानियाँ राणा शासन र प्रजातान्त्रिक व्यवस्थाको तुलना नै हुन नसक्ने बताएका हुन्।

जहानियाँ शासकले आफ्ना सन्तानका लागि दरबार बनाएको तर प्रजातन्त्रपछि जनताका लागि सडक, पुल, कुलो, बिजुली व्यापार केन्द्र र विद्यालय बनाएको स्मरण गराए।

उनले भने, ‘जहानियाँ शासकले सन्तानका लागि दरबार बनाए। जनताका लागि प्रजातन्त्रले सडक बनायो, पुल बनायो, कुलो बनायो, विजुली व्यापार केन्द्र र विद्यालय बनायो।’

उनले अहिले देशमा समग्ररुपमा विकास भइरहेको बताउँदै विकासोन्मुखबाट विकासशीलतिर अघि बढेको दाबी गरे।

आजको दिन यातनादायी र कहालीलाग्दो क्षणको स्मरणसमेत गरेका छन्। भावी पुस्ताले आजको दिनलाई बिर्सन नमिल्ने पनि बताए।

उनले भने, ‘२००७ साल फागुन ७ गते १ नेपालको इतिहासमा यस्तो सन्धिकाल हो, जसले हाम्रा पुर्खालाई हुकुमी शासनको क्रूर जन्जिरले बाँधिएको घना रातबाट स्वयंको विवेकले चल्ने स्वतन्त्रताको न्यानो विहानीमा पुर्‍याएको यातनादायी, कहालीलाग्दो तर साहसिक लामो यात्राको स्मरण गराउँछ’।