नेपाल वायुसेवा निगम र जापान एयरलाइन्सबीच द्विपक्षीय सम्झौता

काठमाडौं, ८ फागुन । नेपाल वायुसेवा निगम र जापान एयरलाइन्सबीच द्विपक्षीय सम्झौता भएको छ।
पछिल्लो सम्झौताले नेपाल र जापानबीचको हवाई सम्पर्कलाई थप मजबुत बनाउने विश्वास कम्पनीको छ ।
सम्झौताअनुसार, नेपाल वायुसेवा निगमको सिधा उडानमार्फत जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलसम्म यात्रा गर्न सकिनेछ।
त्यसपछि जापान एयरलाइन्सको छोटो तथा छिटो कनेक्टिङ फ्लाइटमार्फत अमेरिका, युरोप, कोरिया तथा अन्य मुलुकहरूमा यात्रुहरू सहज रूपमा पुग्न सक्ने निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको निर्देशन र बजार व्यवस्थापन विभागको विशेष पहलमा लामो समन्वय तथा वार्तापछि सम्झौता भएको हो ।
सम्झौतासँगै नेपाल वायुसेवा निगमको व्यापार विस्तार हुने, पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने र विदेशी मुद्रा आर्जनमा टेवा पुग्ने विश्वास गरिएको छ।
सम्झौताबाट नेपाल र जापानबीचको आर्थिक तथा व्यावसायिक सम्बन्ध सुदृढ हुने, यात्रुहरूले जापानका विभिन्न गन्तव्यहरूमा सहज रूपमा यात्रा गर्न सक्ने तथा जापानी पर्यटकहरू नेपाल भ्रमणमा आकर्षित हुने विश्वास गरिएको छ।