आइतबार ११ फागुन, २०८१

हनुमानढोकामा मृत भेटिएका व्यक्तिको हत्या भएको खुल्यो, २ जना प्रहरी नियन्त्रणमा

हनुमानढोकामा मृत भेटिएका व्यक्तिको हत्या भएको खुल्यो, २ जना प्रहरी नियन्त्रणमा

काठमाडौं, ८ फागुन । हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिर अगाडि मृत भेटिएका पुरुषको हत्या भएको पुष्टि भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौं र अपराध अनुसन्धान कार्यालयको टोलीले गरेको अनुसन्धानमा मृतकको हत्या गरिएको खुलेको हो।

प्रहरीका अनुसार, सीसीटीभी फुटेजका आधारमा दुई शंकास्पद व्यक्तिहरूलाई पक्राउ गरिएको थियो। पक्राउ परेकाले हत्या गरेको स्वीकार गरेका छन्। उनका अनुसार, बाँसको भाटाले टाउकामा हानी हत्या गरिएको हो, र हत्यामा प्रयोग गरिएको बाँस पनि फेला परेको छ।

प्रारम्भिक बयान अनुसार, मृतक युवकले आरोपितलाई विना कारण थप्पड हानेको थियो, जसका कारण आरोपितहरूले पनि प्रतिकार गर्दै बाँसले टाउकामा हानेको बताएका छन्। पक्राउ परेकाहरू १८ वर्षमुनिका छन्, र अनुसन्धान जारी रहेको छ। प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन।

पक्राउ परेकाहरुविरुद्ध कर्तव्य ज्यानको कसुरमा म्याद लिएर अनुसन्धान गर्ने तयारी गरिएको छ।