माओवादी केन्द्र संविधान संशोधनको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

सुनसरी, ८ फागुन । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्नो पार्टी संविधान संशोधनको पक्षमा रहेको बताएका छन् ।
माओवादी केन्द्र धरान उपमहानगर समितिले बिहीबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले भने, “समग्र जनताको हित, विकास र समृद्धि प्राप्ति गर्न संविधानको मूल मर्मको रक्षा हुने गरी माओवादी संविधान संशोधनको पक्षमा छ ।”
उनले पछिल्लो समय पार्टीले सुदृढीकरण अभियान चलाउन सुरु गरेपछि माओवादी बलियो बन्दै गएको बताए । श्रेष्ठले सामाजिक र आर्थिक रुपान्तरण नै समृद्धिको आधार रहेको पनि बताए ।
लोकतन्त्रको रक्षा गर्न सामाजिक आर्थिक रुपान्तरण आवश्यक रहेको बताउँदै उनले सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्राथमिकतामा राखेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयनमा सबैले ध्यान दिनुपर्ने बताए ।
ताप्लेजुङको पाथीभरामा निर्माण गर्न लागेको केबलकार विवादले धरान प्रभावित भइरहेको विषयमा उनले स्थानीयबासिन्दाको मागलाई सम्बोधन गरेर केबलकार निर्माण गर्नुपर्ने र वार्ताकै माध्यमबाट विवाद समाधान गर्नुपर्ने बताए ।