निर्यात साढे ४६ प्रतिशतले बढ्यो, सोयाबिन तेल मात्रै ३२ अर्ब बढीको निर्यात

काठमाडौं, ८ फागुन । नेपालबाट हुने वस्तु तथा सेवाहरूको निर्यात बढेको छ । चालू आर्थिक वर्ष २०८१/८२ को सात महिनामा निर्यात ४६.५० प्रतिशतले बढेको हो ।
भन्सार विभागका अनुसार चालू आवको सात महिनामा एक खर्ब २७ अर्ब २० करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालबाट निर्यात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा ४६.५० प्रतिशत बढी हो । त्यसबेला ८६ अर्ब ८३ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात गरिएको थियो ।
चालू आवको सात महिनामा ९ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा १०.०९ प्रतिशत बढी हो । सो अवधिमा ८ खर्ब ९७ अर्ब ९४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।
चालु आर्थिक वर्ष २०८१/८२ को सात महिनामा ११ खर्ब भन्दा बढीको वैदेशिक व्यापार भएको छ । चालू आवको साउनदेखि माघसम्मको अवधिमा ११ खर्ब १५ अर्ब ७९ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको हो । गत आवको सोही अवधिमा ९ खर्ब ८४ अर्ब ७७ करोड बराबरको वैदेशिक व्यापार भएको थियो ।
यस अवधिमा नेपालले ८ खर्ब ६१ अर्ब ३८ करोड रुपैयाँ बराबर व्यापार घाटा व्यहोरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ६.२० प्रतिशतले बढी हो । गत आवको सो अवधिमा नेपालले ८ खर्ब ११ अर्ब ११ करोड बराबरको व्यापार घाटा व्यहोरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।