भेप तस्करी : मुस्ताङ भन्सारका कार्यालय सहयोगीसहित २ जनाविरुद्ध साढे ४ करोडको मुद्दा

काठमाडौं, ९ फागुन । इलेक्टिक चुरोट (भेप) तस्करी गरेको आरोपका दुई जनाविरुद्ध साढे चार करोड रुपैयाँ भन्दा बढीको मुद्दा दायर भएको छ ।
मुस्ताङ भन्सार कार्यालयका कार्यालय सहयोगी टासी नुर्वु गुरुङ र घ्याचे गुरुङविरुद्ध राजस्व अनुसन्धान विभागको कार्यालय हरिहर भवनले मुद्दा दायर गरेको हो ।उनीहरुविरुद्ध ४ करोड १२ लाख ६६ हजार ४६ रुपैयाँ बिगो मागदाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर भएको विभागकी प्रवक्ता कृष्णकुमारी श्रेष्ठले बताइन् ।
राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ३ ले निषेधित कसुर गरेको आरोपमा उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो ।यसका साथै बिगोको शतप्रतिशत जरिवाना, भेप समेत जफत गर्नुपर्ने र दफा २३ (१) (ख) बमोजिम कैद समेत मागदाबी गरिएको छ ।
मुस्ताङको कोरला नाकाबाट नेपाल भित्र्याउने क्रममा घ्याचेलाई प्रहरीले पक्राउ गरेको थियो । भन्सार छलेर भेप छिराउने काममा कार्यालय सहयोगी टासीले घ्याचेलाई सहयोग गरेको आरोप छ ।
जसअनुसार टासीलाई मुख्य अभियुक्त घ्याचेलाई हुने सजायको आधा सजाय मागदाबी गरिएको छ । यो भेप ढुवानीमा प्रयोग भएको ग १ ख ६९९९ नम्बरको गाडी समेत जतफका लागि मागदाबी गरिएको छ ।
एक समूले ९५ कार्टुन भेप रसुवा नाकाबाट नेपाल भित्र्याउन खोजेको थियो । तर २० दिनसम्म होल्ड हुँदा समेत रसुवा नाकाबाट उक्त भेप नेपाल भित्र्याउन सम्भव नभएपछि उक्त समूहले मुस्ताङको कोरला नाकाबाट भेप भित्र्याएको थियो ।
यद्यपी मुस्ताङबाट राजस्व छलेर भेप भित्र्याउन लागिएको सूचना विभागले पाएको थियो । उक्त सूचनाको आधारमा मुस्ताङ प्रहरीले १९ हजार थान भेपसहित घ्याचे गुरुङलाई पक्राउ गरेको थियो ।