केपी ओली कप फुटबल हेर्न विश्वकप च्याम्पियन इटालियन गोलकिपर बफोन नेपाल आउने

काठमाडौं, ९ फागुन । फिफा विश्वकप विजेता इटालीका गोलकिपर जियानलुजी बफोन नेपाल आउने भएका छन् ।
इटलीका पूर्वकप्तान तथा विश्वकै उत्कृष्ट गोलकिपरमध्ये एक मानिने बफोन केपी ओली कप फुटबल प्रतियोगिताको अवसरमा पारेर नेपाल आउन लागेका हुन् ।
केपी ओली कपको आयोजक नेपाल युवा संघका अध्यक्ष क्षितिज थेवेले बफोन नेपाल आउने पक्का भएको पुष्टि गरे । केपी ओली कपको तेस्रो संस्करण यही फागुन ११ देखि १९ गतेसम्म हुनेछ । त्यस प्रतियोगिताको फाइनल खेल दौरान बफोन काठमाडौंमा आउने थेवेले जानकारी दिए ।
बफोनअघि ब्राजिलका स्टारहरु रोनाल्डिन्हो र रोबर्टो कार्लोस जस्ता खेलाडीहरुलाई ल्याउने प्रस्ताव गरेपनि उनीहरु नआउने भएपछि बफोनलाई ल्याउन लागिएको राष्ट्रिय युवा संघका सचिव निरोज पौडेलले जानकारी दिए ।
सन् २००६ को फिफा विश्वकप जितेका बफोनले कीर्तिमानी १७६ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनी सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने गोलकिपर हुन् । उनले इटलीका लागि ८० खेलमा कप्तानी समेत गरेका थिए ।
बफोनले सन् १९९८ देखि २०१४ सम्म लगातार पाँच विश्वकप खेलेका थिए । केपी ओलीकपको तेस्रो संस्करणमा दुई विदेशी ९ टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा क्वाटरफाइनलसम्मका खेलहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्स तथा सेमिफाइनल र फाइनल खेल दशरथ रंगशालमा हुने युवा संघका सचिव निरोज पौडेलले जानकारी दिए ।
बफोनलाई फागुन १७ गते नेपाल ल्याउने तयारी रहेको संघका सचिव पौडेलले जानकारी दिए । उनले दशरथ रंगशालमा फाइनल खेल अवलोकन गर्नेछन् ।