एकीकृत समाजवादी बनाएकोमा गौरवबोध छ : माधव नेपाल

काठमाडौँ, ९ फागुन । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले नेकपा एमाले फुटाएर एकीकृत समाजवादी बनाएकोमा आफूलाइ गौरवबोध भएको धारणा राख्नुभएको छ ।
आजदेखि शुरु भएको पार्टी केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेको नाम नलिईकन आफुहरुले दक्षिणपन्थी अवसरवादविरुद्ध विद्रोह गरेको र त्यो सही कदम भएको जिकिर गर्नुभएको हो ।
‘नेपालको राजनीतिमा क्रान्तिकारी धारको रक्षा गर्न र दक्षिणपन्थी अवसरवादविरुद्ध विद्रोह गर्यौं र त्यो विद्रोह जायज थियो भन्ने कुरा दिनदिनैका घटनाक्रमहरूले पुष्टि गरिरहेका छन्,’ उहाँले भन्नुभयो ।
एकीकृत समाजवादीको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बैठक जारी छ । बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन, पार्टी निर्माण सम्बन्धी आगामी कार्ययोजना लगायतबिषयमा छलफल हुनेछ ।