यूएसएआईडी अमेरिकाका २००० बढी कर्मचारीलाई बिदा गर्न बाटो खुल्यो

काठमाडौं, १० फागुन । अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी यूएसएआईडीका कर्मचारीलाई बिदा गर्न बाटो खुलेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई यूएसएआईडीका २,००० भन्दा बढी कर्मचारी बिदा गर्न त्यहाँको अदालतले अनुमति दिएको हो ।
वाशिङटनका अमेरिकी जिल्ला न्यायाधीश कार्ल निकोल्सले मुद्दाको सुरुवातमा लागू गरिएको अस्थायी रोक आदेश खारेज गरेका हुन् । उनले बिदामा रहेका कर्मचारीहरूलाई सुरक्षा सुनिश्चित गर्ने प्रशासनको दाबीबाट सन्तुष्ट भएको पनि बताएका छन् ।
निकोल्सलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले नै पहिलो कार्यकालमा नियुक्त गरेका थिए । यससँगै कर्मचारी युनियनहरुले भने थप निराश भएका छन् । ‘हामी आजको निर्णयबाट निराश छौं र यूएसएआईडीका कामदारहरूले भोगिरहेका क्षति वास्तविक छ । हामी विश्वस्त छौं कि अदालतहरूले यूएसएआईडीलाई समाप्त गर्ने प्रयासलाई कानूनी रूपमा अस्वीकृत गर्नेछन्,’ डेमोक्रेसी फर्वार्डका अध्यक्ष स्काइ पेरिम्यानले एक विज्ञप्तिमा भनेका छन्।
यो मुद्दा यस महिनाको सुरूमै दायर भएको थियो । विश्वव्यापी गरिबीविरुद्धको समूह ओक्सफामले पनि मुद्दामा सामेल भएको छ तर उसले अझै कुनै प्रतिक्रिया दिएको छैन । ट्रम्पले आफ्नो पहिलो दिनमै सबै विदेशी सहायता ९० दिनका लागि रोक्न आदेश दिएका थिए । सोही अनुसार यूएसएआईडीका कर्मचारीलाई बिदान गर्न लागिएको हो ।