आइतबार ११ फागुन, २०८१

झापामा प्रधानमन्त्रीको ७३ औँ जन्मदिनमा पूजा र हवनसहित बिरुवा रोपेर ‘जन्मोत्सव पार्क’ नामकरण

झापामा प्रधानमन्त्रीको ७३ औँ जन्मदिनमा पूजा र हवनसहित बिरुवा रोपेर ‘जन्मोत्सव पार्क’ नामकरण

काठमाडौँ, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनका अवसरमा झापामा अष्टचिरञ्जीवीको पूजा तथा हवन कार्यक्रम गरिएको छ । उनको ७३औँ जन्मदिनका अवसरमा ७३ वटा बिरुवा रोपेर ‘जन्मोत्सव पार्क’ नामकरणसमेत गरिएको छ ।

नेकपा (एमाले) का अध्यक्षसमेत रहेका ओलीको जन्मदिनमा झापाको कन्काई नगरपालिका-२, धनुष्कोटीमा पूवा र हवनसहित ७३ दीप प्रज्वलन गरिएको थियो । श्री किरातेश्वर महादेव मन्दिर र धनुषकोटी धाम विकास समिति, सुकेडाँगी सामुदायिक वन, कनकाई नगरपालिका वडा नं. २ लगायतको अगुवाइमा पूजा गरिएको हो । अष्टचिरञ्जीवीको पूजापछि नजिकै रहेको वन क्षेत्रमा वृक्षारोपण गरिएको थियो ।

वृक्षारोपण गरिएको क्षेत्रलाई वनका अध्यक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मोत्सवको अवसरमा ‘जन्मोत्सव पार्क’ नामाकरण भएको घोषणा गरेका हुन्

अष्टचिरञ्जीवीको पूजासहित दीप प्रज्वलन कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य गोविन्द थापा, कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्र पोखरेल, शिवसताक्षी नगरपालिका उपप्रमुख नरमाया कार्की, वडा नं. २ का अध्यक्ष बलराम राई, सामुदायिक वनका अध्यक्ष बलराम रिसाल, धनुषकोटी धामका अध्यक्ष भक्तबहादुर पौडेललगायत सहभागी थिए ।