नेपाली सेनाले भन्यो – बदलिँदो नीतिले पार्ने प्रभावलाई नियालिरहेका छौं

काठमाडौं, ११ फागुन । नेपाली सेनाले शक्ति राष्ट्रहरूको बदलिँदो नीतिले पार्ने प्रभावलाई नियालिरहेको जनाएको छ ।पृतनापति समन्वयात्मक बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै युद्धकार्य विभागका महानिर्देशक उपरथी प्रेमध्वज अधिकारीले सो कुरा बताएका हुन् ।
नेपाली सेनाले बदलिँदो अन्तर्राष्ट्रिय परिस्थिति, शक्ति राष्ट्रले लिइरहेका नयाँ नीतिको नेपाल प्रभावलाई सुक्ष्म रुपमा हेरिरहेको जनाएको छ ।
विशेषतः अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै उनले लिएका नीतिका कारण बहुआयामिक प्रभाव पर्ने भन्दै त्यसलाई सेनाले नियालिरहेको जंगीअड्डाले जनाएको छ ।
युद्धकार्य विभागका महानिर्देशक अधिकारीले भने, ‘विभिन्न शक्ति राष्ट्रले लिएका नीति र क्षेत्रीय रुपमा विकसित परिस्थिति, राजनीतिकदेखि आर्थिक गतिविधिले कत्तिको प्रभावित हुन्छौं भन्ने कुरा धेरै अनुमान लगाउन सकिन्छ । नेपाली सेना र सैनिक नेतृत्व बदलिँदो परिस्थितिमा कम्प्रिहेन्सिभ स्ट्याटिजी फ्रेमवर्कमा पर्ने सम्पूर्ण सुरक्षा सरोकारका विषयहरुलाई कसरी सम्बोधन गर्ने भन्नमा चिन्तन मनन् भइरहेकै अवस्था हो ।’
बदलिएको परिस्थितिमा नेपालको क्षमता र स्रोत, साधनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा पनि रणनीति तयार पार्ने काम भइरहेको उपरथी अधिकारीले बताए ।पछिल्लो समय अमेरिका र युक्रेनको बिचमा देखा परेको उतार–चढावले नयाँ प्रकारका सुरक्षा चुनौतीहरू सिर्जना हुनसक्ने सेनाको निष्कर्ष छ ।