संविधानको पूर्ण कार्यान्वयन गरेर पहिचानको मुद्दा सम्बोधन गर्न सकिन्छः प्रचण्ड

काठमाडौं, १२ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको संविधान पूर्ण कार्यान्वयन गरेर पहिचानको मुद्दा सम्बोधन गर्न सकिने बताएका छन् ।
जनतासँग माओवादी तराई मधेस जागरण अभियानअन्तर्गत झापाको कचनकवल गाउँपालिका–३ आमबाडीमा आयोजित सहिद परिवार तथा आदिवासी अगुवाहरुको भेटघाटमा अध्यक्ष प्रचण्डले यस्तो धारणा राखेका हुन् ।
उनले संविधानमा उल्लेखित स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्रको अवधारणा कार्यान्वयन गर्दा धेरै हदसम्म पहिचानको मुद्दा सम्बोधन गर्न सकिने बताए ।
कोच, शेर्पालगायत धेरै सनुदायको पहिचान सम्बोधन गर्न सबैभन्दा पहिले संविधान कार्यान्वयनमा जोड दिनुपर्ने र त्यसो गर्दापनि सम्बोधन नभए संविधान संशोधनमार्फत अघि बढ्नुपर्ने उनको धारणा थियो । जसरी पनि संविधान बनाउनुपर्ने बाध्यताका कारण पार्टीले अघि बढाएका पहिचानसहितका महत्त्वपूर्ण एजेन्डालाई जस्ताकोतस्तै अघि बढाउन नसकेको स्मरण गराउँदै अध्यक्ष प्रचण्डले अब पार्टीले उत्पीडित वर्ग र समुदायको एजेन्डा प्राथमिकताका साथ उठाउने नीति लिएको बताए । बीचमा आफ्नो वर्ग र समुदायसँग टुटेको कडी जोड्न पार्टीले अभियान सुरु गरेको पनि उनले स्पष्ट गरे ।
अहिले उत्पीडित समुदायले पाएको अधिकारलाई माओवादीले पाए जस्तो देख्ने र यसलाई जति सकिन्छ धेरै खोस्ने प्रयासमा एकथरी शक्ति लागेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आफ्नो पार्टी भने उत्पीडित समुदायलाई बलियो बनाएर मात्रै जनताको अधिकार बचाउन सकिन्छ भन्नेमा स्पष्ट रहेको बताए । त्यसका लागि उत्पीडित वर्ग र समुदाय पनि थप एकताबद्व र बलियो बन्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा आदिवासी समुदायका अगुवाले पहिचानको मुद्दालाई थप बलियो बनाउन, चुनावी घोषणापत्रमा प्रतिबद्ध हुनु र आदिवासी समुदायको नेतृत्व गर्न अध्यक्ष प्रचण्डसहितका माओवादी नेताहरुलाई सुझाव दिएका थिए। झापाको यो क्षेत्रमा राजबंशी, गनगाइ, माझी, मुसलमानलगायतका आदिवासीको बसोबास रहेको छ।