बलियो अर्थतन्त्रका लागि दक्ष प्राविधिक र गुणस्तरीय शिक्षाकाे खाँचाे छ : मन्त्री दाहाल

काठमाडाैँ, १२ फागुन । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बलियो अर्थतन्त्र स्थापनाका लागि दक्ष प्राविधिक र गुणस्तरीय शिक्षाको खाँचो रहेको बताएका छन् । दक्ष प्राविधिकहरू उत्पादन गर्न सके स्वदेशमानै स्वरोजगारीको सिर्जना गरि आयात प्रतिस्थापनमा समेत सहयोग पुग्ने उनकाे भनाइ छ ।
प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद–सिटीईभीटीको ३७ औं वार्षिक उत्सवलाई सोमबार भक्तपुरमा संवोधन गर्दै उनले शिपयुक्त शिक्षा र प्रविधिको हस्तान्तरण मार्फत दक्ष प्राविधिकहरु उत्पादन गर्नु पर्नेमा जोड दिए । उच्च शिक्षा हाँसिल गरेका युवाहरु समेत रोजगारीका लागि विदेश गई रहनु भएको उल्लेख गर्दै उनले सैद्धान्तिक शिक्षासँगै व्यवसायीक र प्राविधिक शिक्षा प्रदान गर्न सके यो क्रममा न्युनिकरण आउने समेत उल्लेख गरे ।
सिटीईभीटीले देशका विभिन्न ग्रामिण क्षेत्र सम्म पुगेर प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम प्रदान गर्नु सह्रानिय रहेको उल्लेख गर्दै मन्त्री दाहालले तालिम र शिक्षा पाएको जनशक्तिलाई स्वदेशमानै आत्मनिर्भर र व्यवसायीक बनाउन तर्फ पनि ध्यान दिनु पर्ने बताए । कार्यक्रममा उनले परिषदका विभिन्न शिक्षालयका विद्यार्थीहरुले प्रयोगात्मक शिप मार्फत निर्माण गरेका विभिन्न सामाग्री, उपकरणहरुका स्टलको अवलोकन समेत गरे ।
कार्यक्रममा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थी तथा अवकास प्राप्त कर्मचारीहरूलाई प्रशंसा पत्र प्रदान गरिएको थियो भने मन्त्री दाहालले परिषद मार्फत प्रकाशित जर्नलको लोकार्पण पनि गरे । परिषदका सदस्य सचिव महेश भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरूले परिषदका लागि समयानुकुल कानून निर्माण गर्न मन्त्री एवम् सरकारको ध्यानाकर्षण गराएका थिए ।