सोमबार १९ फागुन, २०८१

स्ववियु निर्वाचनको तयारी : सातै प्रदेशमा काँग्रेसले खटायो नेता

स्ववियु निर्वाचनको तयारी : सातै प्रदेशमा काँग्रेसले खटायो नेता

काठमाडौं, १८ फागुन । नेपाली काँग्रेसले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावका लागि आन्तरिक तयारी सुरु गरेको छ ।

काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संगठनलाई जिताउन पार्टीबाट समन्वय गर्ने गरी प्रदेशगत रूपमा सात नेतालाई जिम्मेवारी दिइएको छ । पार्टी केन्द्रले गरेको तयारी र महामन्त्री विश्वप्रकाश शर्माले तल्लो तहमा गरेको सर्कुलरलाई सञ्चार माध्यममा लान नहुने निर्देशन छ ।

त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याणकारी परिषद्ले स्ववियु निर्वाचनको मिति ५ चैतका लागि तोकेको छ । स्ववियु निर्वाचन नजिकिएसँगै पार्टीका नेताहरूलाई प्रदेशगत जिम्मेवारी दिइएको छ ।

सहमहामन्त्रीहरूमा भीष्म आङ्देम्बेलाई कोशी, महेन्द्र यादवलाई मधेस, महालक्ष्मी उपाध्याय ‘डिना’लाई बागमती, जीवन परियारलाई गण्डकी तोकिएको छ । साथै, लुम्बिनीमा नेताहरू चन्द्र भण्डारी, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा एनपी साउदलाई खटाइएको छ ।