मंगलबार २० फागुन, २०८१

प्रधानमन्त्रीले सोझै जनतालाई झुक्याइरहेका छन्ः अर्जुननरसिंह केसी

प्रधानमन्त्रीले सोझै जनतालाई झुक्याइरहेका छन्ः अर्जुननरसिंह केसी

काठमाडौं, २० फागुन । पूर्व मन्त्री एवं कांग्रेस नेता अर्जुननरसिंह केसीले संविधान संशोधनका लागि सर्वदलीय समिति बनाएर सहमति खोज्नुपर्ने धारणा व्यक्त गरेका छन् ।  उनले संसद भित्र रहेका दलहरु मात्र नभइ संसद बाहिर रहेका दल समेतलाई समेटेर सर्वदलीय समितिमा व्यापक छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने पनि बताएका छन् । 

आज (मंगलबार) नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै केसीले यस्तो बताएका हुन् । उनले ०८७ सालमा संविधान संशोधन गर्छौं भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ जनतालाई सोझै झुक्याउने कुरा भएको टिप्पणी गर्दै अहिल्यैबाट प्रक्रिया थाल्नुपर्ने पनि बताएका छन् । 

कांग्रेस नेता केसीले भने, ‘२०८७ मा संविधान संशोधन गर्छौ भन्नु सोझै जनता झुक्याउने विषय हो, सरकार बनाउँदा कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिविपरीत पनि हो, ‘संविधान संशोधनका लागि अहिल्यैबाट प्रक्रिया थाल्नुपर्छ, पहिला सत्तारुढ दलभित्र पनि छलफल हुनुपर्छ त्यसपछि संसदभित्र रहेका र संसद बाहिर रहेका दलहरुपनि समेटेर सर्वदलीय समिति बनाएर व्यापक छलफलबाट निचोड निकाल्नुपर्छ ।’

नेता केसीले सरकारले ७ बुँदे सहमति अनुसार प्रभावकारी ढंगले काम गर्न नसकेको र सरकारमा कांग्रेसको अनुहार कमजोर देखिएको पनि बताएका छन् ।  नेता केसीले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र हालको समानुपातिक प्रणालीको पनि विकल्पमा जानुपर्ने पनि बताएका छन् ।  उनले संसदको पहिलो र दोस्रो ठूलो दलको सरकार बन्दा पनि नागरिकमा निराशा र असन्तुष्टि कायमै रहेको भन्दै नेता केसीले मुलुकमा सुशासन कायम नहुनु र भ्रष्टाचार व्याप्त हुनु मुख्य कारण भएको औंल्याए ।