मंगलबार २० फागुन, २०८१

घुससहित पक्राउ परेका रोल्पाका तत्कालीन ट्राफिक प्रमुख दोषी ठहर

घुससहित पक्राउ परेका रोल्पाका तत्कालीन ट्राफिक प्रमुख दोषी ठहर

काठमाडौं, २० फागुन । रोल्पाका तत्कालीन ट्राफिक प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक (सई) ललितकुमार बुढाथोकी भ्रष्टाचार कसुरमा दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र मरारीबाबु श्रेष्ठको इजलासले सई बुढाथोकीलाई दोषी ठहर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले सई बुढाथोकीलाई घुससहित रंगेहात १७ मंसिरमा पक्राउ गरेको थियो । उनलाई २५ हजार घुससहित पक्राउ गरिएको थियो ।

उनले सवारी आवतजावत सहजीकरण गरिदिने भन्दै २५ हजार रुपैयाँ घुस लिएको अख्तियारको भनाइ थियो । उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार कसुरमा मुद्दा दायर भएकोमा विशेष अदालतले दोषी ठहर गरेको हो ।

उनलाई बिगो बराबरको २५ हजार जरिवाना, १ हजार क्षतिपूर्ति र ३ महिना कैदको फैसला सुनाइएको छ ।