एमाले मोरङ अधिवेशन : नयाँ नेतृत्वका लागि मतदान जारी

विराटनगर, २१ फागुन । नेकपा (एमाले) मोरङको नयाँ नेतृत्व छनाेटका लागि मतदान जारी छ । १० औ जिल्ला अधिवेशनमा नयाँ नेतृत्वका लागि बुधबार बिहानबाट मतदान भइरहेको हो ।
१६५ सदस्यीय नयाँ जिल्ला कमिटी मध्ये ७१ जना सदस्य निर्विरोध निर्वाचित भएका छन् । पदाधिकारीसहित ९४ जनाका लागि मतदान भइरहेको हो । चुनावी मैदानमा १९१ जना छन् ।
जिल्ला अधिवेशनमा संस्थापन पक्षबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र ईर्जालाल राजवंशीको उम्मेदवारी परेको छ । इतर पक्षबाट अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष वान्तवा र उषा झाले उम्मेदवारी दिएका छन् ।
संस्थापन समूहको नेतृत्व एमाले उपाध्यक्ष गुरु बरालले गरिरहेका छन् । यो समूहमा प्रदेश इञ्चार्ज शेरधन राई, हिक्मतकुमार कार्की, भानुभक्त ढकाल, मोरङ इञ्चार्ज जीवन घिमिरे छन् ।इतर पक्षको नेतृत्व नेता विनोद ढकालले गरिरहेका छन् । उनी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी निकट छन् ।
नयाँ नेतृत्वका लागि ९ सय ११ प्रतिनिधि मतदाता छन् । मतदानपछि पार्टी कार्यालय पाञ्चालीमा मतगणना हुनेछ ।