धार्मिक पर्यटकीय क्षेत्र मुडकामा लाग्ने मेलाको तयारी पूरा

काठमाडौं, २१ फागुन । शुक्लाफाँटा नगरपालिका–८ स्थित धार्मिक पर्यटकीय क्षेत्र मुडकामा लाग्ने मेला (जाँत)को तयारी पूरा भएको छ । यही फागुन २३ र २४ गते लाग्ने मेलाका लागि मन्दिर परिसरमा सरसफाइसँगै सडक मर्मतलगायत तयारी पूरा भएको हो ।
मेलाका लागि मन्दिर परिसरभन्दा तल्लो क्षेत्रमा व्यापारिक प्रयोजनका पसल राख्ने व्यवस्था मिलाइएको छ । सवारीसाधन पार्किङका लागि स्वयंसेवक छनोट गरिएको वैजनाथ धार्मिक तथा पर्यटकीय विकास समितिका अध्यक्ष पुरन हमालले बताए ।
“मन्दिर परिसर र त्यसको आसपासको क्षेत्रलाई दर्शनार्थीका लागि छुट्टयाएका छौँ”, उनले भने,“मेला क्षेत्रमा मदिरा पूर्ण रूपमा निषेध गरिएको छ ।” दर्शनार्थीका सवारीसाधन हिँड्ने सडकमा धुलाम्मे हुने भएकाले त्यसमा पानी छर्केर व्यवस्थित पार्ने कार्य भइरहेको उहाँले उल्लेख गर्नुभयो । खानेपानीको उचित प्रबन्ध गरिएको छ ।
अध्यक्ष हमालका अनुसार मेला क्षेत्रमा अवाञ्छित गतिविधि हुन नदिन शान्ति सुरक्षाका लागि प्रहरी र सशस्त्र प्रहरीसँग समन्वय गरिएको छ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, महिलाहरूलाई मन्दिरमा दर्शन गर्न पहिलो प्राथमिकतमा राख्ने निर्णय गरिएको समितिका कोषाध्यक्ष डम्बरबहादुर ऐरले बताए ।
फागुन शुक्ल पक्षको नवमीको राति र दशमीको दिन दिउँसो मुडकामा प्रत्येक वर्ष मेला लाग्ने गर्दछ । यस अवसरमा नगरपालिको स्थानीय बिदा दिने गरेको छ । जिल्लाकै धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण गन्तव्यका रूपमा मुडकालाई लिने गरिन्छ ।
मन्दिरको दर्शन गरेमा मुडकामा रहेको बैजनाथ बाबाको दर्शन गरेमा ईच्छित फल पाइने जनविश्वासका कारण दर्शनार्थीको घुइँचो लाग्ने गर्छ । मेलामा भारत, नेपालका दर्शनार्थीसँगै व्यापारीको ठूलो जमघट हुने स्थानीय बताउँछन् ।
मुडका क्षेत्रमा सिद्धबाबाको प्राचीन मन्दिर र मन्दिर नजिकै ठूलो तलाउ छ । पूर्वपश्चिम राजमार्गभन्दा झण्डै ११ किलोमिटर उत्तर चुरेको फेदीमा रहेको यो क्षेत्र प्राचीनकालमा पहाडबाट चौपायासहित हिउँदका बेला बसाइँ सर्नेको आश्रयस्थल रहिआएको मानिन्छ । रासस