बजेट आउनु एक महिनाअघि प्रि–बजेट छलफल सक्नुपर्ने अध्यादेश संसदबाट स्वीकृत

काठमाडौं, २१ फागुन । आज बुधबार बसेको प्रतिनिधि सभाको बैठकबाट बजेट आउनु एक महिनाअघि प्रि–बजेट छलफल सक्नुपर्ने अध्यादेश स्वीकृत भएको छ ।
सरकारले २९ पुसमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेशसहित चार वटा अध्यादेश ल्याएको थियो ।
बुधबार यो अध्यादेश प्रतिनिधि सभामा निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले स्वीकृत गरेको हो । यो अध्यादेशमा बजेट आउनु एक महिना अघि प्रि–बजेट छलफल सक्नुपर्ने लगायतका प्रावधान छ । नेपालमा प्रत्येक वर्ष जेठको १५ गते बजेट ल्याउने व्यवस्था छ ।
अध्यादेश अनुसार अब वैशाख १५ गते अगावै प्रि–बजेट छलफल सक्नुपर्ने हुन्छ । यसअघिको सरकारले बजेट आउनुभन्दा तीन महिना अगावै प्रि–बजेट छलफल गरिसक्नुपर्ने प्रावधान सहितको अध्यादेश ल्याएको थियो ।
त्यसलाई घटाएर वर्तमान सरकारले एक महिना अगाडि प्रि–बजेट छलफल सक्नुपर्ने गरी अध्यादेश ल्याएको हो । जसलाई प्रतिनिधि सभाले बहुमतले स्वीकृत गरेको छ ।