नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष लागूऔषध कारोबारमा दोषी ठहर

परासी, २१ फागुन । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता (दीपक) लागुऔषध कारोबारमा दोषी ठहर भएका छन्। जिल्ला अदालत नवलपरासीका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले मंगलबार गरेको फैसलाले अध्यक्ष गुप्तासहित दुई जनालाई लागुऔषधमा कसुर ठहर गरेको हो।
कसुर ठहर हुने अर्कामा रघुनाथ प्रसाद धोबी छन्। अभियोग ठहर भएका धोबी गाउँपालिकाका नगर प्रहरी थिए। उनी सोही अभियोगमा २०७९ असोज २६ गतेदेखि पुर्पक्षका लागि थुनामै छन्। अन्य दुई जनालाई अभियोगबाट सफाई दिइएको छ। सफाई पाउनेमा रामा गुप्ता भन्ने रामा साह र जीतेन्द्र पासवान छन्। उनीहरू भारतीय नागरिक हुन्। अभियोग लागेका पाल्हीनन्दन गाउँपालिका-३ का मन्टु भनिने विवेक प्रसाद पाण्डे अझै फरार छन्।
अध्यक्षसहित धोबीलाई कसुर ठहर गरे पनि सजाय निर्धारणका लागि भने पेशी तोकिएको छ। आउँदो फागुन २९ गते सजाय निर्धारणको फैसला हुने अदालतका शाखा अधिकृत सूचना अधिकारी भेषराज खनालले जानकारी दिए। लागुऔषध अभियोगमा २ वर्षदेखि १० वर्षसम्म कैद र १ लाखदेखि २० लाख रुपैयाँसम्म जरिबाना हुने भन्दै सजाय ठहर फैसलामा भनिएको छ, ‘प्रतिवादी बैजुप्रसाद गुप्ता (अध्यक्ष) लाई अपराध गरेबापत हुने सजायको आधा सजाय हुने हुँदा सजाय निर्धारणका लागि फागुन २९ मा पेशी तोक्नु।’ आदेशअनुसार अध्यक्ष गुप्ताले लागुऔषध मुद्दाको कसुरबापत हुनेमध्ये आधा सजाय पाउने शाखा अधिकृत खनालले जानकारी दिए।
घटनापश्चात रघु, रामा र जीतेन्द्रलाई प्रहरीले पक्राउ गरेको थियो। साह र पासवान सर्वोच्चबाट धरौटीमा यसअघि रिहा भइसकेका छन्।
घटना के हो ?
२०७९ असार २२ गते रामग्राम नगरपालिका–१७ पिपरिहयामा भएको घटनामा अध्यक्ष गुप्ताको निर्देशनमा रामा र जीतेन्द्र)लाई फसाउन खोजेको भन्दै त्यतिबेलै सदरमुकाममा परासीमा विरोध र प्रदर्शन भएको थियो। अध्यक्ष गुप्ताको निर्देशनमा रघुनाथ प्रसाद धोबी र मन्टु भनिने विवेकप्रसाद पाण्डेले रामा र जीतेन्द्र चढेको मोटरसाइकल नजिक लागुऔषधको झोला फ्याँकेर गई फसाउन खोजेको आरोप जीतेन्द्रको परिवारको थियो। प्रहरीसहितको मिलमतोमा उक्त लागुऔषध दुई जनाबाट बरामद भएको भन्ने प्रतिवेदन बनाएर मुद्दा दर्ता गरिएको प्रहरीमाथि समेत आरोप थियो। बरामद भएको लागुऔषधमा २/२ थान एम्पुलको झोलासहित ९०/९० थान डाइजेपाम नुर्फिन र फेनार्गन रहेको उल्लेख थियो।
निर्दोष व्यक्तिलाई फसाएको भन्दै त्यतिबेला प्रहरीको आलोचना गर्दै सदरमुकाममा प्रदर्शनसमेत भएको थियो। प्रहरीकै मिलमतोमा निर्दोषलाई फसाएको भन्दै आलोचना बढेपछि प्रहरी प्रधान कार्यालय र लुम्बिनी प्रदेश प्रहरी कार्यालयले घटनाको छानबिन गर्न छुट्टाछुट्टै टोली पठाएको थियो। सोही घटनालाई लिएर तत्कालीन एसपी ऋषिराम कँडेलको सरुवासमेत भएको थियो। अध्यक्ष गुप्ताको कवाड व्यवसायसमेत छ।
जीतेन्द्र र रामा भारतीय नागरिक हुन्। बिहारको चिरहिया ग्राम पटजिलवा घर भएका उनीहरूले करिब १५ वर्षअघिबाट सुनवल नगरपालिकाको भूमही बजारमा कवाडी पसल सञ्चालन गर्दै आएका थिए। अध्यक्ष र उनीहरूबीच कबाड सामानको कारोबार हुँदै आएको थियो। करिब एक करोड ३५ लाख बढीको कवाडी सामानको लेनदेनको विषयलाई लिएर अध्यक्ष गुप्ताले उनीहरूलाई फसाएको आरोपसमेत लाग्दै आएको थियो। अध्यक्ष गुप्तासहित अन्य तीन व्यक्तिसँगबाट लागुऔषध बरामद नभएपनि सजाय निर्धारणका लागि भएको फैसलामा उनीलाई दोषी ठहर गरिएको हो।
उनीहरू माथि लगाइएको अभियोजनमा भनिएको छ– ‘रामा र जीतेन्द्रले लागुऔषध सञ्चित गर्ने तथा ओसारपसार गर्ने कार्यमा सरिक रहेको पाइँदा उनीहरूले समूहमा कारोबार गर्ने देखिएकाले कसैबाट लागुऔषध बरामद नभएकै आधारमा सृजित दायित्वबाट उन्मुक्ति पाउने अवस्था रहँदैन तसर्थ रघु, मन्टु(विवेक)को प्रत्यक्ष र बैजुप्रसाद (अध्यक्ष) अप्रत्यक्ष संलग्नता रहेका छ।’