माओवादी सांसद सापकोटाको प्रश्नः निजीकरण अध्यादेशको मस्यौदा कुन कर्पोरेट हाउसमा लेखिएको हो ?

काठमाडौं, २१ फागुन । संसदको प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले निजीकरण अध्यादेशको मस्यौदा कुन कर्पोरेट हाउसमा लेखिएको हो भन्दै सरकारलाई प्रश्न गरेका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा निजीकरण (पहिलो संशोधन) अध्यादेश,२०८१ अस्वीकृत गरियोस् भन्ने पेस गर्दै सांसद सापकोटाले लोकतान्त्रिक मूल्य मान्यताको हिसाबले अध्यादेशको बाटो पूर्ण रूपमा गलत भएको बताएका हुन् ।
‘लोकतान्त्रिक मूल्यमान्यता हिसावले यो अध्यादेशको बाटो सर्वथा गलत छ । यसले सम्पूर्ण रुपमा संसदलाई नाङ्गो ढंगले झम्टिराखेको छ । त्यसैले विधि र मान्यताको हिसाबले एउटा होइन, दुईटा होइन, तीन वटा होइन, चार वटा होइन, पाँच वटा पनि होइन । ६ वटा अध्यादेश र ३२ वटा ऐन ल्याइयो । यही हो लाकेतन्त्र ?,’ उनले भने ।
संविधानलाई जिस्क्याएर संविधानलाई खिसी गरेर ल्याइएको पनि उनले बताए । पहिलेको सरकारले लगानी प्रवर्द्धन गर्नका लागि र मिटरब्याज पीडितको समस्या समाधान गर्न संसद् नभएको बेलामा अध्यादेश ल्याएको उनको भनाइ छ । '३२ वटा विधेयक ल्याउनुभयो । गिरिबन्धुको पूरै स्मेल आउने गरेर भूमिसम्बन्धीको विषय आयो । अहिले म निजीकरण विधेयकको बारेमा कुरा गर्दैछु । यो कहाँ ड्राफ्ट भयो । यसको बारेमा सोध्दा कोही जवाफ दिँदैनन् । र यो कुन कर्पोरेट हाउसमा ड्राफ्ट भएर आयो ? र आदेश के गर्यो सरकारले भन्दा कमा र फुलस्टप समेत परिवर्तन नगरियोस्,' उनले भने ।