संसद् सचिवालयले निलम्बन गरेका दुई पत्रकारको पास आजै फिर्ता गरियोस् : सांसद ढकाल

काठमाडौं, २१ फागुन । संसद सचिवालयले दुई पत्रकारको पास निलम्बन गरेको बिषय संसदमा प्रवेश गरेको छ । निलम्बन गरेका दुई पत्रकारको पास आजै फिर्ता गर्न सांसद हरि ढकालले माग गरेका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै ढकालले सरकारको दबाब र प्रभावमा रहेर संसद सचिवालयले पास खोसेको आरोप लगाए।
‘संसद् सचिवालयले आज दुई जना पत्रकारको पास खोसेछ। सरकारको दबाब र प्रभावमा रहेर जसरी पास खोसिएको छ, आजै नै ती पत्रकारहरूको पास फिर्ता गरियोस्,’ उनले भने।
संसद सचिवालयले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीय संसद भवन परिसरमा हिटलर र तानाशाह बन्दै हो भनेर प्रश्न सोधेका दुई पत्रकारहरूको पास निलम्बन गरेको थियो।
संसद् सचिवालयको महासचिवस्तरीय निर्णयबाट ’सुनौलो नेपाल’ युट्युब च्यानलका प्रकाश ओली र ‘युवा मन नेपाल’ च्यानलका किशोरकुमार श्रेष्ठलाई एक महिना संसद भवन प्रवेशमा रोक लगाएको हो।
संसद भवन प्रवेशका लागि संघीय संसद सचिवालयले पास उपलब्ध गराउने गर्छ।
सचिवालयले प्रधानमन्त्री ओलीलाई अमर्यादित प्रश्न सोधेको भन्दै दुई पत्रकारको पास एक महिनाका लागि निलम्बन गरेको बताएको छ। गत फागुन ४ गते ती पत्रकारहरूले प्रधानमन्त्री ओलीलाई प्रश्न सोधेका थिए।