धुम्बाराहीमा चार्ज गर्ने क्रममा इभी बसमा आगलागी

काठमाडौं, २० फागुन । राजधानीको धुम्बाराहीस्थित चार्जिङ स्टेशनमा बिजुली बस (इलेक्ट्रिक भेइकल–इभी) मा आगलागी भएको छ । चक्रपथ परिक्रमा रुटमा सञ्चालन हुने प्रदेश-३-०५-००५ ख ९६९३ नम्बरको बसमा बुधबार राति आगो लागेको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बस चार्ज गर्ने क्रममा आगलागी भएको जानकारी दिए । प्रहरीका अनुसार आगलागी थाहा पाउनेबित्तिकै आगो तत्काल नियन्त्रणमा लिइएको थियो ।
हालसम्म घटनाबाट कुनै मानवीय क्षति नभएको पुष्टि भएको छ । आगलागीको कारण प्राविधिक त्रुटि हो वा अन्य कुनै समस्या, सो विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।