सोमबार २६ फागुन, २०८१

भिट्ठामोड सुक्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने ‘प्रचण्ड’को प्रतिबद्धता

भिट्ठामोड सुक्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने ‘प्रचण्ड’को प्रतिबद्धता

काठमाडौं, २२ फागुन । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्तरीको भिट्ठामोड सुक्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भारतीय सिमाना नजिक बनाइने प्रस्तावित सुक्खा बन्दरगाह निर्माण स्थलको अवलोकनपछि जलेश्वर उद्योग वाणिज्य संघले आज भिट्ठामोडमा आयोजना गरेको छलफलमा उनले सो प्रतिबद्धता जनाएका हुन् ।

आफ्नो पार्टीले सञ्चालन गरेको जनतासँग माओवादी, तराई मधेस जागरण अभियानको एउटा उद्देश्य सीमा क्षेत्रका जनताको अवस्था बुझ्ने र विकास निर्माणका काम अघि बढाउने उनले बताएको अध्यक्ष दाहालको निजी सचिवालय जनाएको छ ।

अध्यक्ष दाहालसमक्ष जलेश्वर उद्योग वाणिज्य संघले ज्ञापन पत्र पनि बुझाएको थियो । कोलकाता बन्दरगाहबाट तेस्रो मुलुकका सामान आयात निर्यात गर्न जलेश्वर भन्सारबाट एकतर्फी २२५ किलोमिटर मात्रै रहेको जानकारी गराउँदै संघका अध्यक्ष शिवचन्द्र चौधरीले यो बन्दरगाह मधेसका सबै जिल्लालाई पायक पर्ने स्थान बताए ।