गलेश्वर बजारमा सौन्दर्यकरण

म्याग्दी, २२ फागुन । म्याग्दीको प्रमुख धार्मिक पर्यटकीय स्थल गलेश्वर बजारमा सौन्दर्यकरण योजना सुरुआत भएको छ । हिन्दू तथा वौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल मुस्ताङको मुक्तिनाथ प्रवेशद्धार मानिने गलेश्वरको बजार भित्रको सडक र पदमार्गलाई मौलिक, व्यवस्थित र सुन्दर बनाई पर्यटक र भक्तजन आकर्षित गर्न परियोजनाको काम थालेको हो ।
परियोजना मार्फत गलेश्वर बसपार्क देखि प्रवेशद्धार, गलेश्वर मन्दिर परिसर हुदै राहुघाट नदी किनारसम्मको पैदलमार्ग, सडकमा स्लेट ढुङ्गा बिछ्याइने र किनारामा गमला राखेर फुलका बिरुवा रोपिने बेनी नगरपालिका–९ का वडा अध्यक्ष चक्र केसीले बताउनुभयो ।
“मुक्तिनाथ र मुस्ताङ जाने आउने पर्यटक तथा भक्तजनलाई गलेश्वरमा भित्र्याउने र उनिहरुको बसाई लम्बाउने उद्देश्यले सौन्दर्यकरणको परियोजना शुरु गरिएको हो,” उहाँले भन्नुभयो “बेनी नगरपालिका र गलेश्वर शिवालय क्षेत्र विकास कोष सहितका संघ संस्थाको रु. ३० लाख बजेटबाट शुरु भएको योजनालाई आगामी वर्षपनि निरन्तरता र पूर्णता दिन्छौ ।”
गलेश्वर बजार भित्रको सडकमा ढुङ्गा बिछ्यापछि सार्वजनिक यातायातका साधनहरु बजार बाहिरको कालिगण्डकी कोरिडोरको सडकबाट मात्र आवत जावतको ब्यवस्था मिलाइने वडा अध्यक्ष केसीले बताउनुभयो । भुईमा बिछ्याइने ढुङ्गामा असर नपर्ने गरे बजारभित्र निर्माण सामग्री र उपभोग्य सामग्री आपुर्तिका सवारी साधन सञ्चालन गर्न मिल्ने गरि संरचनाको डिजाइने गरिएको छ ।
चालु आर्थिक वर्षमा बेनी नगरपालिकाले रु. २० लाख बजेट बिनियोजन गरेको गलेश्वर बजार सौन्दर्यकरण योजनाका लागि गलेश्वर शिवालय क्षेत्र विकास कोषले रु। छ लाख, पुलह पुलत्स्य अन्नक्षेत्र र राधाकृष्ण मन्दीरले रु। दुई÷दुई लाख उपलब्ध गराएका छन् ।
गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटि रकमबाट सौन्दर्यकरण योजनालाई सहयोग गरिएको कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो । उक्त योजना निर्माणका लागि बेनीको एसएस बिल्डर्सले रु। २४ लाख ३६ हजार पाँच सय ७१ मा ठेक्का लिएको छ ।