राष्ट्रिय सभामा ५ अध्यादेश निर्णयार्थ प्रस्तुत हुँदै

काठमाडौं, २२ फागुन । सरकारले जारी गरेका ६ मध्ये ५ वटा अध्यादेश आज राष्ट्रिय सभामा निर्णयार्थ प्रस्तुत हुने छन्। यीमध्ये भूमिसम्बन्धी नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ बाहेकका सबै अध्यादेशहरु आज ३४औं दिनमा निर्णयका लागि प्रस्तुत गर्न लागिएको हो।
दिउँसो १ बजे बस्ने राष्ट्रिय सभा बैठकमा सुशासन, आर्थिक कार्यविधि, निजीकरण, व्यावसायिक वातावरण सुधार र सहकारीसम्बन्धी नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश निर्णयार्थ प्रस्तुत हुने छन्। यी अध्यादेशहरु प्रतिनिधि सभाले बुधबार पास गरिसकेको छ।
सरकारले संसद् अधिवेशन नरहेका बेला ६ वटा अध्यादेश ल्याएको थियो र २४ माघमा दुवै सदनमा प्रस्तुत गरिएको थियो। तर, जसपा नेपाल र लोसपाले भूमिसम्बन्धी अध्यादेशको विरोध गरेपछि २४ माघमा निर्णय स्थगित भएको थियो।
राष्ट्रिय सभामा यी पाँच अध्यादेशको विपक्षमा १२ वटा अस्वीकारको सूचना दर्ता भएका छन्।