बिहीबार २२ फागुन, २०८१

सडक बत्तीको महसुल बक्यौता तिर्ने १३ पालिकालाई विद्युत् प्राधिकरणको सम्मान

सडक बत्तीको महसुल बक्यौता तिर्ने १३ पालिकालाई विद्युत् प्राधिकरणको सम्मान

काठमाडौं, २२ फागुन । नेपाल विद्युत प्राधिकरणले सडक बत्तीको महसुल बक्यौता तिर्ने लुम्बिनी प्रदेशअन्तर्गतका पालिकाहरुलाई सम्मान गरेको छ ।

सडक बत्तीको नियमित रुपमा महसुल र लामो समयदेखिको बक्यौता तिर्ने प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालय, बुटवल मातहतका वितरण केन्द्रका क्षेत्रभित्रका नगरपालिका र गाउँपालिकालाई सम्मान गरिएको छ । 

प्राधिकरणकातर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङले बुधबार बुटवलमा गरिएको कार्यक्रममा सडक बत्तीको बक्यौता तिर्ने ५ गाउँपालिका र ८ नगरपालिका गरी १३ पालिकाका प्रमुखहरुहरुलाई सम्मानसहित प्रशंसा पत्र वितरण गरे ।

सडक बत्तीको बक्यौता तिर्ने र सडक बत्तीको नियमित रुपमा महसुल तिरिरहेका ओमसतिया, सियारी, प्रतावपुर, सरावल र सुस्ता गाउँपालिकालाई सम्मान गरिएको छ ।

त्यस्तै, सिद्धार्थनगर, रामग्राम, बर्दघाट, तिलोत्तमा, कपिलवस्तु, सन्धिखर्क, भूमिकास्थान र रेसुङ्गा नगरपालिकालाई सम्मान गरिएको हो । उक्त पालिकाहरुले लामो समयदेखिको सडक बत्तीको बक्यौता रकम भुक्तान गरी नियमित रुपमा महसुल तिरिरहेका छन् । 

कार्यक्रममा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)स्थित परासी वितरण केन्द्रको क्षेत्रभित्र पर्ने केही स्थानमा स्थानीय बासिन्दाको अवरोधका कारण निर्माण हुन नसकिरहेको ३३ केभी लाइन निर्माण सम्पन्न गर्न आवश्यक समन्वय र सहयोग गर्ने जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारीहरु विश्व प्रकाश अर्याल र स्किम श्रेष्ठलाई पनि प्रशंसापत्र दिइएको थियो ।