हातमा हत्कडी र नेल लगाएर नेपालीलाई फिर्ता गर्नु मानवअधिकार विपरीत : सांसद पौडेल

काठमाडौं, २२ फागुन । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले हातमा हत्कडी र नेल लगाएर नेपालीलाई फिर्ता गर्नु मानवअधिकार विपरीत रहेको बताएका छन् ।
अमेरिकाबाट नेपालीहरू निकै अपमानजनक तरिकाले हातमा हत्कडी र नेल लगाएर फिर्ता हुनु परेको भन्दै सांसद पौडेलले यसलाई मानवअधिकारका अन्तर्राष्ट्रिय स्थापित मूल्यमान्यता विपरीत भएको बताए ।
प्रतिनिधिसभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै सांसद पौडेलले भने, ‘अमेरिकाबाट भर्खरै १० जना र केही समय अगाडि २५ गरी ३५ जना नेपालीहरू निकै अपमानजनक तरिकाले हातमा हत्कडी र नेल लगाएर फिर्ता भएका छन् । हातमा हत्कडी र नेल लगाएर फिर्ता गरिनु मानवअधिकारका अन्तर्राष्ट्रिय स्थापित मूल्यमान्यता विपरीत छ ।’
सांसद पौडेलले विदेशमा रहेका नेपालीहरूको अवस्थाबारे जानकारी लिनका लागि ‘अन्तर्राष्ट्रिय सेल’ गठन गर्न माग गरे ।
हत्कडी र खुट्टामा चेनले बाँधेर अमेरिकाबाट फर्काइएका थिए ८ नेपाली
विदेशमा रहेका नेपालीहरूको अवस्था बुझनका लागि सरकारले तुरून्तै परराष्ट्र मन्त्रालयमार्फत गम्भीर प्रकारको अन्तर्राष्ट्रिय सेल गठन गरेर नेपालीहरूको सुरक्षा गर्न पहल कदमी लिनुपर्ने उनको भनाइ थियो ।
संसारभरिका नेपालीहरू अपमानित हुने जुन प्रकारको अवस्था सिर्जना भएको छ यसको अन्त गरेर नेपालमै सुन्दर भविष्य खोज्ने वातावरण बनाउन सरकारले गम्भीर पहल गर्नुपर्नेमा उनको जोड थियो ।
विदेशमा रहेका नेपालीको सुरक्षा गर्न र त्यहाँ रहेका नेपालीहरूलाई सहजतापूर्वक नेपालमा फिर्ता गर्न सरकारले गम्भीर भएर लाग्नु पर्ने उनको भनाइ थियो ।
नेपालमा भविष्य नदेखेपछि विदेश पलायन हुनुपर्ने बाध्यता रहेको भाव दिने गीतबाट उनले सम्बोधन सुरु गरेका थिए ।