बैदेशिक रोजगारमा जानेहरुको स्वास्थ्य परीक्षणमा भइरहेको सिण्डिकेट अन्त्यको माग

काठमाडौं, २२ फागुन । नेपाल मेडिकल व्यवसायी संघले बैदेशिक रोजगारमा जाने श्रमिकहरुको स्वास्थ्य परीक्षण प्रणालीमा भइरहेको सिण्डिकेट अन्त्यको माग गरेको छ । संघले सिण्डिकेट अन्त्यका लागि अभियान संचालन गर्ने पनि जनाएको छ ।
विहीवार काठमाडौंमा व्यवसायी संघले पत्रकार सम्मेलन गर्दै मलेसियालगायत अन्य देशहरुमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने बिषयमा लगाएको सिण्डिकेट अन्त्य गर्नुपर्ने माग अघि सारको हो ।
बैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा गुणस्तरीयताको सुनिश्चितता कायम गर्ने उद्देश्यले अभियान संचालन गरिन लागेको नेपाल मेडिकल व्यवसायी संघले जनाएको छ ।
संघले नेपाल सरकार मातहतमा दर्ता भई संचालनमा रहेका २१२ वटा स्वास्थ्य संस्थाहरुलाई समान हक अधिकार, खुल्ला प्रतिस्पर्धा तथा लगानीको सुनिश्चित गर्नुको सट्टा उल्टै देशैपिच्छे खडा गरि मुल्यमा समेत कार्टेलिङ गरेको आरोप लगाएको छ ।
त्यसमध्ये ३६ वटा मलेसिया र १९ वटा स्वास्थ्य संस्थाले गाम्का संस्थाको नाममा काठमाडौं केन्द्रित भएर केन्द्रिकृत प्रणालीमा श्रमिकको पहुँच भन्दा दुर–दराजमा राज्यको नीति विपरित संचालित सिण्डिकेटधारी संस्थाहरु तत्काल बन्द गर्नुपर्ने संघका महासचिव कृष्णप्रसाद बजगाईंले बताए ।