काठमाडाैं महानगरको जवाफी पत्र : गुरागाईंलाई हाजिर गराइँदैन, निमित्तलाई आर्थिक अधिकार दिइयोस्

काठमाडौं, २२ फागुन । काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालयमा हाजिर नगराउने भन्दै निमित्तलाई आर्थिक अधिकार दिन माग गरेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको छ ।
महानगरले अर्को प्रशासकीय अधिकृत पठाउन र त्यतिञ्जेलका लागि निमित्त प्रशासकीय अधिकृतलाई आर्थिक अधिकार दिन माग गरेको हो ।
महानगरको पत्रमा गुरागाईंलाई हाजिर गराएमा महानगरका विभिन्न परियोजना र कार्यहरूमा नकारात्मक प्रभाव तथा कानुनी झण्झट पर्ने उल्लेख गरिएको छ ।
‘मूल सम्झौताको आधारभूत सर्त, भवन मापदण्ड तथा भवन संहिता समेत विपरीत हुने गरी आधिकारिक तहमा विचाराधीन विषयमा त्रूटिपूर्ण कार्य गर्ने प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराएमा सो परियोजना लगायत अन्य कार्यहरू समेतमा नकारात्मक प्रभावका साथै कानुनी झन्झट हुनेछ,’ महानगरले मन्त्रालयलाई लेखेको पत्रमा उल्लेख छ ।